काठमाडाैं- सरकारले सडक निर्माणकाे लागि ल्याएकाे बजेट पनि छरफस्ट रूपमा वितरण गरिएकाे छ। अध्यादेशमार्फत् ल्याइएको अगामी अर्थिक वर्ष २०७८/०७९ बजेटमा सडक निर्माणका लागि झन्डै १ खर्ब विनियोजन गरिएकाे छ।
पूर्व-पश्चिम राजमार्गलाई सुरक्षा मापदण्डसहितको चार लेनमा विस्तार गर्न १५ अर्ब ३४ करोड विनियोजन गरिएको छ। जसमा कञ्चनपुर-कमला, कमला-ढल्केवर-पथलैया र नारायणगढ-बुटवल खण्डको विस्तार कार्यलाई तीव्रता दिइने र काकडभिट्टा-इनरुवा, पथलैया-नारायणगढ, बुटवल-कोहलपुर र कोहलपुर-वनवासा खण्डको बिस्तृत डिजाइनसम्पन्न गरी निर्माण कार्य थालनी गरिने उल्लेख छ।
साथै, राजमार्गको सघन बस्ती भएको क्षेत्रमा सर्भिस लेन, अण्डरपास तथा फ्लाइओभर, चुरे क्षेत्रमा टनेल र वन क्षेत्रमा वन्यजन्तु टनेलसमेत निर्माण गरिने बजेटमा उल्लेख छ।
पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रुपमा निर्माण गरिने बजेटमा उल्ले छ। राजमार्गको दुरी घटाउन सम्भाव्यता अध्ययन गरी पुनःरेखाङ्कन, सुरुङ्ग प्रविधिको प्रयोग र उचाइयुक्त पुल निर्माण गरिने भन्दै ८ अर्ब १३ करोड विनियोजन गरिएको छ।
मदन भण्डारी राजमार्गको चतरा-हेटौडा खण्डको निर्माण कार्य आगामी आवमा सम्पन्न गरिने बजेटमा उल्लेख छ। शान्तिनगर-धरान र भेडावारी-धुलियाविट, सुर्खेत खण्डको निर्माण कार्य प्रारम्भ गरिने र बाँकी खण्डको रेखाङ्कन र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य अगाढी बढाउन ३ अर्ब २० करोड विनयोजन गरिएकाे छ
हुलाकी राजमार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने छ। रतुवा, विरिङ्ग, कन्काई,कमला, वागमती, बलान, डन्डा रकान्द्रा नदीमा पुल निर्माण सम्पन्न गरिने बजेटमा उल्लेख छ। चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनःरेखाङ्कन गरी निर्माण सम्पन्न गर्न ६ अर्ब ३९ करोड रूपैयाँ विनियोजन गरिएकाे छ।
कसलाई कति बजेट?
-काठमाडाैं-तराई मधेश द्रुत मार्गको निर्माणलाई ८ अर्ब १५ करोड।
-सिद्धार्थ र कोहलपुर-सुर्खेत राजमार्गलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्न ७ अर्ब।
-पृथ्वी राजमार्गको नागढुङ्गा-मुग्लिन खण्डको स्तरोन्नति र आँवुखैरेनी-पोखराखण्ड चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड।
-पूर्व-पश्चिम राजमार्गबाट तराई-मधेशका १८ जिल्लामा जिल्ला सदरमुकाम हुँदै दक्षिणी सीमा जोड्ने सडकलाई चार लेनमा विस्तार गर्ने कार्यक्रमअन्तर्गत सम्पन्न हुन बाँकी खण्डको विस्तार गर्न २ अर्ब ६६ करोड।
-अरनिको राजमार्गको धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति तथा विस्तार गर्न १ अर्ब १३ करोड।
-गल्छि-स्याफ्रुवेंशी-रसुवागढी र काठमाडाैं-विदुर सडकलाई डेडिकेटेड डवल लेनमा स्तरोन्नति गरिने छ। ओलाङचुङ्गोला, किमाथाङ्का, लामावगर, लार्के, कोरला, हिल्सा, यारी र टिंकरसम्मको पहुँचमार्ग निर्माण तथा सुधारको लागि बजेटको व्यवस्था।
-उत्तर-दक्षिण सडक कोरिडोर निर्माण कार्यलाई तीव्रता दिइनेछ।मेची कोरिडोरको देउराली-भैसे खण्ड, तमोर कोरिडोरको चतरा-ओलाङ्चुङगोला खण्ड, कोशी कोरिडोरको खाँदवारी-किमाथाङ्काखण्ड, त्रिशुली कोरिडोरको त्रिशुली-साफ्रुवेसी-रसुवागढी खण्ड, कालीगण्डकी कोरिडोर, सेती लोकमार्गकोटीकापुर-साँफे खण्ड निर्माण कार्य अघि बढाउन ६ ५० करोड।
- कर्णाली राजमार्गको सुर्खेत-खुलालु खण्ड दुई लेनको बनाइनेछ।नाग्मा-गमगढी सडक स्तरोन्नति गर्नका लागि १ अर्ब २० करोड।
-भेरी सडक कोरिडोरको जाजरकोट-दुनै खण्डको स्तरोन्नति गरिने विषय पनि बजेटमा उल्लेछ । दुनै-तिन्जे धो खण्डको ट्रयाक खोल्ने कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गर्नका लागि ६१ करोड।
-महाकाली कोरिडोरको ब्रम्हदेवमण्डी-झुलाघाट-दार्चुलाखलङ्गा-टिंकर सडकको निर्माणलाई तीव्रता दिन १ अर्ब ३ करोड।
-आगामी वर्ष घ सय पुल निर्माण सम्पन्न गरिने विषय बजेटमा उल्लेख छ।दोधारा-चाँदनी हुँदै भारतीय सीमा नाका जोड्ने महाकाली नदीमा चार लेनको पुल निर्माण सम्पन्न गरिने गरी पुल निर्माणका लागि एकमुषठ ११ अर्ब १० करोड।
-काठमाडाैं उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलङ्कीदेखि महारागञ्ज खण्डको निर्माणका लागि २ अर्ब ६४ करोड।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।