काठमाडौं– आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले रेलमार्ग निर्माणदेखि रेल सञ्चालनलाई प्राथमिकता दिएको जनाएको छ।
शनिबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेल मार्ग निर्माण तथा रेल यातायात सञ्चालनका लागि १० अर्ब ३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए।
देशभित्र आधुनिक प्रविधियुक्त रेल यातायात सञ्जाल विकास गर्ने नीति लिइएको सरकारको दाबी छ। आगामी वर्ष जयनगर–जनकपुर–कुर्था–विजलपुरा र जोगवनी–विराटनगर खण्डमा रेल सेवा सञ्चालन गरिने बजेटमा उल्लेख छ।
यस्तै, वर्दिवास स्टेशनको निर्माण कार्य प्रारम्भ गरिने विषय समेत बजेटमा समेटिएको छ।
यस्तै, अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरी काठमाडौं उपत्यकामा मेट्रो रेल र शहरी केवुलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिने विषय पनि अर्थमन्त्री विष्णु प्रसाद पोडेलले बजेटमा उल्लेख गरेका छन्।
पूर्व–पश्चिम रेलमार्ग अन्तर्गत वर्दिवास–निजगढ खण्डको ट्रयाक वेल्ट निर्माण सम्पन्न गरिने विषय पनि बजेटमा समेटिएको छ।
अर्थमन्त्रीले काँकडभिटा–इनरुवा खण्डको जग्गा अधिग्रहण र अन्य तयारी कार्य सम्पन्न गरी निर्माण कार्य थालनी गरिने पनि बजेटमा उल्लेख गरेका छन्।
यस्तै, निजगढ–अमरापुरी खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने तथा वित्तीय व्यवस्था गरी बाँकी खण्डको निर्माण कार्य क्रमशः अगाडि बढाइने बजेटमा उल्लेख छ।
आगामी आर्थिक वर्षमा रक्सौल–काठमाडौं तथा केरुङ्ग–काठमाडौं–पोखरा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने पनि बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।