काठमाडाैं- पूर्वअर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले गैरजिम्मेवार ढंगले बजेट ल्याएको प्रतिक्रिया दिएका छन्।
अर्थमन्त्री विष्णु पौडेल बजेट वाचन गरिरहँदा प्रतिनिधि सभाको निर्वाचन हुँदैन पुनर्स्थपना हुन्छ भन्ने सोच राखेको आफूले पाएको उनले बताए।
अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको’ मात्र उल्लेख गरेकाले उनी निर्वाचन हुनेमा ढुक्क नदेखिएको पुनले बताए।
‘चुनावी बजेट पनि छैन। चुनावका लागि आवश्यक बजेट छुट्याएको छु भनिएको छ ’ ,उनले भने, ‘ तर ठोस बजेट छैन। त्यसो हुँदा आफैंले घोषणा गरेको चुनावप्रति पनि विश्वास नभएकोले संसद पुनर्स्थापना हुन्छ भन्न्ने उहाँमा पनि रहेको पाएँ। ’
‘हामीले काम गर्न खोजेका थियौं’ भनेर सस्तो कुरा गर्न लागि यो नाराहरु समेटर बजेट ल्याएको उनले बताए। यो बजेट विगतको कमजोरी ढाकछोप गर्ने प्रयास भएको पूर्वअर्थमन्त्री पुनकाे भनाइ छ।
‘कामचलाउ सरकारले अहिले बजेट ल्याउने बेला नै होइन,’ उनले भने, ‘अझै डेढ महिना चालु बजेटले काम गर्छ। अर्काेतिर कामचलाउ सरकारले यो गर्नै मिल्दैन।’ नयाँ कर लगाउन र पुरानो पुनरावलोकन समेत गर्न नमिल्ने उनले बताए।
‘नयाँ कार्यक्रम गर्न पनि संवैधानिक र कानूनी रुपमा पाउँदैन। कामचलाउ सरकारले असंवैधानिक काम गरेको छ ,’ उनले थपे, ‘संवैधानिक दायरा र राजनीतिक मर्यादा पनि नाघेको छ।’ आफैं चुनाव घोषणा गर्ने र चुनावलाई प्रभावित गर्ने बजेट ल्याउन नपाउने पुनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।