काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गरेका छन्।
अध्यादेशबाट जारी गरिएको बजेटलाई पौडेलले शनिबार सिंहदरबारबाट वाचन गरेका हुन्। १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याइएको हो। बजेटमा चालु खर्चका लागि ६ खर्ब ७८ अर्ब, पुँजीगत (विकास) खर्चका लागि ३ खर्ब ४७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
अर्थमन्त्री पौडेलले बजेट वक्तव्य पढिरहँदा पटकपटक प्रधानमन्त्रीको गृहजिल्ला झापाको नाम आउँछ। कैयौँ योजनाहरुमा झापा पनि जोडिएको छ, कैयौँ योजना झापा केन्द्रित छ।
अर्थमन्त्रीले झापालाई छोएर वा केन्द्रमा राखेर घोषणा गरेका केही कार्यक्रमहरु, अर्थमन्त्रीकै भाषामाः
१. कृषि उत्पादनमा आधुनिक प्रविधिको सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान प्रदान गर्न दुई वर्षभित्र झापाको चन्द्रडाँगी, सर्लाहीको नवलपुर लगायत सबै प्रदेशका एक-एक कृषि फार्मलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास गरी सञ्चालनमा ल्याइनेछ।
२. आगामी आर्थिक वर्ष समृद्ध तराई-मधेस सिँचाइ विकास कार्यक्रम अन्त्तर्गत झापा, सप्तरी, उपयपुर, चितवन, नवलपरासी पूर्व, दाङ, बर्दिया, कञ्चनपुर लगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य भूमिका सिँचाइ सुविधा विस्तार गर्न ५ हजार स्यालो ट्युववेल र २ सय डिप ट्युववेल जडान गरिनेछ। यस कार्यक्रमको लागि रु. २ अर्ब ३४ करोड विनियोझन गरेको छु।
३. झापाको भद्रपुर, म्याग्दीको वेनी, डोल्पाको दुनै, बझाङको चैनपुर र दार्चुलाको खलङ्गा बजारलाई नदि कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरेको छु। जनताको तटबन्ध अन्तर्गत मावा, विरिङ, बक्राहा, खाँडो, रातु, लखनदेही, पूर्वी राप्ती, तिनाउ-दानव, भादा, मोहना लगायतका नदी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिई १ सय १५ किलोमिटर संरचना निर्माण गर्न बजेट छुट्याएको छु। नदी नियन्त्रण र पहिरो व्यवस्थापनमा नवीन तथा बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गरिनेछ।
४. झापाको दमक, मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चनपुरको दैजीमा आगामी दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गरिनेछ।
५. झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिनेछ।
६. झापाको दमकमा बहुतले बसपार्क सहितको सिटी पार्क निर्माण गर्न बजेट छुट्याएको छु।
७. नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान पूर्वाधार विकास गरिनेछ। सार्वजनिक पदाधिकारीलाई आवधिक रुपमा प्रशिक्षण प्रदान गरी निरन्तर सिकाइ कार्यक्रम प्रवर्द्धन गर्न झापाको चन्द्रगढीमा उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ।
८. जनघनत्व बढी भएका दमक, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज लगायत अन्य आठ सहरमा ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।