काठमाडाैं- सरकारले औद्योगिक संरक्षण तथा लगानी प्रवर्द्धनका लागि भन्दै केही क्षेत्रका छुट तथा घटाउने निर्णय गरेको छ।
कामचलाउ सरकारका अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले आगामी आर्थिक वर्षका लागि बजेट भाषणमार्फत् केही क्षेत्रमा सुविधा दिएको जानकारी दिएका हुन्।
सरकारले स्वदेशी उद्योगको संरक्षणका लागि औद्योगिक कच्चा पदार्थको भन्सार दरदेखि आन्तरिक उत्पादनका केही वस्तुमा लाग्दै आएको अन्त:शुल्क हटाएको छ।
यस्तै, कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्नदेखि व्यवसायिक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णयसम्म गरिएकाे छ।
यस्ता छन् सुविधा
१.स्वदेशी उद्योगको संरक्षणका लागि औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तिमा १ तह कम हुने व्यवस्था मिलाइएको छ। आन्तरिक उत्पादनका केही वस्तुमा लाग्दै आएको अन्त:शुल्क हटाएको छ।
२. चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छ। नेपालमा दर्ता भएका सिपिङ्ग कम्पनीले कन्टेनर आयात गर्दा लाग्ने भन्सार महसुल घटाइएको छ।
३.कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा ५o प्रतिशत छुट दिइएको छ। सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५o प्रतिशत छुट दिइएको छ।
४.कोभिड महामारीपछिको आर्थिक पुनरूत्थानलाई तीब्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमुलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर ५ वर्षभित्र १५ प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष १ प्रतिशत विन्दूले घटाउँदै जाने नीति अवलम्बन गरिनेछ।
५.स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिइएको छ। निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा ५ वटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय १ लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाइएको छ।
६.स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २o प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १o प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिइलाएको छ।
७.बैंकहरूले विदेशी वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाएको छु। सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरिएकाे छ।
८.वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पहिलो ३ वर्षसम्म लाग्ने आयकरको ५o प्रतिशत र थप २ वर्षसम्म २५ प्रतिशत छुट हुने व्यवस्था गरिएकाे छ।
९.औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्चाेलनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरू भएको ३ वर्षसम्म आयकरमा ५o प्रतिशत र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुट दिने व्यवस्था गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।