काठमाडौं- पूर्वमन्त्री तथा एमालेका उपमहासचिव घनश्याम भुसालले नयाँ खिलराजहरुको अभ्यास हुने र मुलुकलाई ‘नयाँ’ संविधानको कोर्समा धकेलिने योजना अनुसार गतिविधि अगाडि बढिरहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत वर्ष आफूलाई एक जना राजनीति कर्मीले भनेको भन्दै सो विषय उल्लेख गरेका हुन्।
‘नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईंहरुलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ। संविधानले काम गर्दैन। त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ’, गत वर्ष आफूलाई भनिएको कुरालाई उनले लेखेका छन्।
उनले घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै गएको पनि उल्लेख गरेका छन्। ‘अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लघन भएको स्वीकार गर्छु। तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ। मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगत पसिना बगेको छ’, उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।