काठमाडौं- गणतन्त्र दिवस २०७८ को मूल समारोह भद्रकालीस्थित जङ्गीअड्डामा आयोजना गरिएको छ। १४औं गणतन्त्र दिवस मूल समारोह समितिद्वारा शनिबार बिहान आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै आधा घण्टा सम्बोधन गरेका गरेका थिए।
आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग सहज रूपमा गर्नेगरी जनता सचेत र सक्षम नहुँदासम्म गणतन्त्र दिगो हुन नसक्ने बताए। ‘जनताको अज्ञानताबाट लाभ लिँदै जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहहरुले आफ्नो नियन्त्रणमा राख्ने प्रवृत्तिलाई निस्तेज पारी गणतन्त्रलाई दिगो बनाउनुपर्दछ,’ उनको भनाइ थियो।
कार्यक्रममा यसअघिझैँ राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, नेपाल सरकारका मन्त्रीहरु लगायतको उपस्थिति थियो।
तर, अघिल्ला वर्षहरुमा टुँडिखेलमा आयोजना हुँदै आएको समारोहलाई जंगीअड्डामा सारिएपछि सामाजिक सञ्जालमा आश्चर्य र आशंकाका साथ प्रश्न उठाइएको छ। ‘गणतन्त्रलाई त भद्रकालीमा बलि दिइँदै छ कि कसो!,’ लेखक राजेन्द्र महर्जनले ट्विट गरेका छन्।
गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री ओली आफैं हुन्। यद्यपि, कार्यक्रमको अन्य व्यवस्थापन भने गृह मन्त्रालयले मिलाउनेगर्छ।
गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले मौसमका कारण जंगीअड्डामा कार्यक्रम आयोजना गर्नुपरेको बताए। ‘अरु त्यस्तो केही कारण छैन। मौसम सफा भयो भने खुलामञ्चमै गर्ने सोच थियो तर पानी परिरह्यो। हिलो भएपछि उता सारिएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।