काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्नु पर्ने उल्लेख गरेका छन्। उनले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार त्यस्तो नहुँदा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं’ शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु।’
कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भन्दै देउवाले जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप लगाए।
यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबल राख्न देउवाले अपिल गरेका छन्।
सभापति देउवाले लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै शहिदप्रति उच्च सम्मान साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको देउवाको भनाइ छ।
नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास देउवाको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।