काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा सरकार, सबै राजनीतिक दल, बुद्धिजीवी, सञ्चार जगत र आम जनता एकताबद्ध भइ अगाडि बढ्न गणतन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
गणतन्त्र दिवस २०७८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सिनाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्। गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरुप्रति श्रद्धाअर्पण गर्दै विभिन्न संघर्षका क्रममा बेपत्ता, घाइते तथा अंगभंग भएकाप्रति उनले उच्च सम्मान व्यक्त गरेका छन्।
जननिर्वाचित संविधानसभाले राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्दै, जनताको शासन सुनिश्चित गरेको आजको दिन केवल शासन व्यवस्थाको परिवर्तन मात्र नभई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि युगिन महत्व बोकेको ऐतिहासिक दिन भएको भन्दै उनले भनेका छन्, 'आजको दिन जनताको संघर्ष र बलिदानले सार्थकता पाएको दिन हो। गणतन्त्र स्थापनाले सार्वभौमसत्ता जनतामा स्थापित गरेको छ। जनताको संघर्ष र बलिदानको जगमा लोकतान्त्रिक गणतन्त्र सँगसँगै संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी शासन व्यवस्थासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी सोहीअनुसारको अभ्यासमा हामी छौं। मुलुकमा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा सरकार, सबै राजनीतिक दल, बुद्धिजीवी, सञ्चार जगत र आम जनता एकताबद्ध भइ अगाडि बढ्न यस दिवसले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु।'




नेपालको संविधानले परिकल्पना गरेको जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजबादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्नु यस संविधानका विशेषाता भएको उनको भनाइ छ। संविधानका यिनै विशेषाताहरुको कार्यन्वयनले नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थालाई बलियो बनाउँने उनी बताउँछन्।
मुलुकले अंगिकार गरेको शासन व्यवस्थाको कार्यन्वयन स्वरुप भएको पहिलो निर्वाचन मार्फत निर्वाचित तीन तहको सरकारमार्फत देश 'समृद्ध नेपाल-सुखी नेपाली'को राष्ट्रिय लक्ष्यसहित अगाडि बढिरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय लक्ष्य हासिल गर्न प्रयासरत रहेको अवस्थामा एकातर्फ कोरोना भाइरसको महामारीले व्यवधान सिर्जना गरेको र अर्कोतर्फ जनताको शासन स्थापित गर्न योगदान पुर्याएका राजनीतिक दलबीच सहकार्य हुन नसक्दा केही चुनौती थपिएको उल्लेख गरेका छन्।
जनता कोरोना महामारीसँग लडिरहेको अवस्थामा देशका जिम्मेवार राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमा लाग्दा जनतामा अहिलेको शासन व्यवस्थाप्रति नै वितृष्णा पैदा हुन सक्ने उनको आशंका छ। त्यसैले यस विषम परिस्थितिमा मुलुकमा क्रियाशिल राजनीतिक दल सुझबुझ र समझदारी साथ जनताको जीवन रक्षामा केन्द्रित हुन उनले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।