काठमाडाैं- सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरसँगै पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्को आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, आर्थिक मामिलामन्त्रीमा प्रकाश शाह, सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी नियुक्त भएका छन्। यसैगरी राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त भएका छन्।
यसअघिका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले भने राजीनामा दिएका छन्।
नवनियुक्त मन्त्रीहरुले शुक्रबार नै प्रदेश प्रमुखबाट शपथ लिएका छन्।
एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय गरेको थियो। तर, प्रदेश सभा संसदीय दलले सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको थियो।
एमालेको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलमा माधवकुमार नेपालपक्षको बहुमत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।