कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिमण्डल हेरफेर र विस्तारको तयारी भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा (एमाले) र माओवादी केन्द्रबाट मन्त्री थप्ने तयारी गरेका छन्। उनीहरूलाई आजै प्रदेश प्रमुखबाट शपथ गराउने तयारी समेत भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार तारा लामा तामाङ, मानबहादुर सुनारलगायत प्रदेश सभा सदस्यलाई मन्त्रीमा नियुक्त गर्ने चर्चा छ।
एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नगर्ने अडानकाबीच एमाले प्रदेश संसदीय दलमा बहुमत रहेको माधवकुमार नेपाल पक्षले बरु मन्त्री थप्ने योजना बनाएको छ।
संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
यस्तै, एमालेले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेको छ। यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।