काठमाडौं- देशका ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले बताएका छन्। शुक्रबार आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा वित्तीय प्रगाढता निरन्तर बढ्दै गएको उनको भनाइ छ। २०७७ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको मन्त्री पौडेलले जानकारी दिए।
चालु आर्थिक वर्षको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि भई ४२ खर्ब ६० अर्ब ४७ करोड पुगेको छ भने कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई ३८ खर्ब ४६ अर्ब ३१ करोड पुगेको छ।
‘कोभिड-१९ का कारण सिर्जित प्रतिकूलता तथा नकारात्मक प्रभावबाट अर्थतन्त्र तथा आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न नेपाल सरकारले लिएका नीतिहरुको प्रभावकारी कार्यन्वयन भइरहेको छ,’ उनले भने, ‘कोभिड-१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पुर्याउने उद्देश्यले यसै वर्ष सुरु गरिएको व्यावसायिक निरन्तरता कर्जा २०७७ फागुन मसान्तसम्म २० करोड ८८ लाख रुपैयाँ प्रवाह भएको छ।’
त्यसैगरी, कोभिड-१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यअनुरुप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको उनले जानकारी दिए।
ऋणीहरूलाई चालु पूँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।