सांकेतिक तस्वीर
दाङ– लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यही जेठ १७ गते बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा निर्वाचन हुने छ।
निर्वाचनका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ। जस अन्तर्गत एउटा केन्द्र(क)मा प्रदेशसभा सदस्य, केन्द्र(ख)मा नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपादक्ष्य, र केन्द्र(ग)मा कोरोना संङ्क्रमितहरुले छुट्टा छुट्टै मतादान गर्ने व्यवस्था मिलाइएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। साथै प्रत्येक मतदान केन्द्रमा दुई/दुईजना स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था गरिएको कुँवरको भनाइ छ। एउटा मतदान केन्द्रमा ११ जना कर्मचारी खटिनेछन्।
मतदानका लागि ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएकाले हरेक जिल्लामा रहेको स्वास्थ्य कार्यालयले पिसिआर परीक्षण गर्ने जिम्मा पाएका थिए। सोही अनुसार आज दाङका जनप्रतिनिधि, निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र निर्वाचनमा खटिने सबैजनाको कोरोना परीक्षण शुरु गरिएको जिल्ला जनस्वास्थ कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार पिसिआर नमुना संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको र त्यसको नतिजा आउन एक/दुई दिन लाग्ने बताए।
उमेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको र चुनाव चिन्हसमेत प्रदान गरिसकेकोले अब मतदान केन्द्रमा आवश्यक संरचनाहरु निर्माण गर्ने र आवश्यक कर्मचारीहरुको छनोट हुने उनको भनाइ छ।
निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका रुपमा देउखुरी जिल्ला अदालतका न्यायाधीस रितेन्द्र थापा र सहायक मतदान अधिकृतमा निर्वाचन कार्यालयका निमित्त प्रमुख नीमराज भट्टराईलाई तोकिएको छ।
उपनिर्वाचनमा जनता समाजवादी पार्टीले कारवाही गरेका प्रदेशका मन्त्री सन्तोषकुमार पाण्डे, कल्पना पान्डे, विजयबहादुर यादव, र सुमन शर्मा रायमाझीले मतदान दिन पाउने छैनन्।
८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारवाही गरेका चारजना, माओवादीले कारवाही गरेका दुईजना र एमालेबाट राजीनामा गरेका दुईजना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको छ।
यही जेठ १७ गते हुने निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम रहेको छ। सर्वोच्चले जेठ ३ गते उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो।
लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा नेकपा एमालेका ९१, नेपाली कांग्रेसका ६४, नेकपा माओवादी(केन्द्र) ३९,जसपा १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन्।
प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख दुई सय १७ गरी जम्मा दुई सय ९६ जना मतदाता रहेका छन्।
राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो। यसपाली नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र गठबन्धनबाट दृगनारायण पाण्डेलाई उम्मेदवार बनाइएको छ। गठबन्धनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको (उपेन्द्र समूह) को समर्थन छ।
विपक्षी गठबन्धनका उम्मेदवार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
प्रदेशसभा सचिवालयले निर्वाचन आयोगलमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।