काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले सभामुखलाई राय दिनेले सरकारविरुद्धको मुद्दामा बहस गर्न नमिल्ने बताएका छन्।
प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका निवेदनमाथि शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा महान्यायाधिवक्ता बडालले यस्तो तर्क गरेका हुन्।
उनले प्रतिनिधि सभाको बैठक बोलाउन सभामुखलाई राय दिने कानुन व्यसायीहरूले प्रतिनिधि सभा विघटन मुद्दामा बहस गर्न नमिल्ने बताएका हुन्।
'हिजो सभामुखलाई कानुनी राय दिने आज विपक्षी बनाएर बहस गर्न मिल्दैन। याे वकिलकाे आचारसंहिताभन्दा बाहिर भयाे', महान्यायाधिवक्ता बडालले भने।
यसैबीच, प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आइतबारका लागि 'हेर्दाहेर्दै'मा राखेको छ।
आज सुरु भएको सुनुवाइपछि कुनै आदेश नदिई 'हेर्दाहेर्दै'मा राखेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आजबाट सुरू भएको हो।
प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए।
तर, न्यायाधीश बमलाई संवैधानिक इजलासमा राखिएकोबारे भने प्रश्न उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।