काठमाडौं- नेकपा (एमाले) बाँकेले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेकाे छ। शुक्रबार एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले विज्ञप्ति जारी गर्दै दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।
कोभिड-१९ को महामारीले सिङ्गो देश आक्रान्त भएका बेला जनताको जीवन रक्षाको दायित्व बोकेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा कुटपिट गर्ने तथा अस्पताल तोडफोड गर्ने कार्य निन्दनीय भएकोले एमालेले जनाएको छ।
'यसले चिकित्सक तथा नर्सको मनोबल घट्ने र सिङ्गो स्वास्थ्य सेवा नै प्रभावित हुने हुँदा राजनितिक आवरणमा यस्ताखाले अराजक गतिविधि गर्ने जोसुकै भएता पनि घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कडा भन्दा कडा कारबाहीको लागि जोडदार माग गर्दछौं', विज्ञप्तिमा भनिएको छ।
साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भयरहित तथा सुरक्षित तवरले उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ।
कोरोना संक्रमितहरुको उपचार हुने कोभिड आईसीयूमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितको मृत्यु भएपछि उनका आफन्तले बिहीबार राति आईसीयू कक्षमै पसेर नर्सको घाँटी थिचेका थिए। त्यसपछि अन्य चिकित्सक र नर्समाथि समेत हातपात गरेका थिए।
ड्युटीमा खटिएका चिकित्सक र नर्समाथि आक्रमण हुन थालेपछि बिरामीलाई छाडेर उनीहरुको भागाभाग भएको थियो। कतिपय ज्यानकै जोखिम बढेको भन्दै अस्पतालको माथिल्लो तलाबाट हाम्फालेका थिए।
घटनामा संलग्न भएको भन्दै एमाले नेतासिहत तीनजना पक्राउ परेका छन्। लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकका अनुसार पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका-११ मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्।
एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर मृतकका भाइ हुन् भने बाँकी दुई जना मृतकका छोरा हुन्।
घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति समेत गठन गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।