काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) मा महन्थ ठाकुर–राजेन्द्र महतो र उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले एक अर्कामाथि सोधेको स्पष्टीकरण पत्रको जवाफ नदिने अडान लिएका छन्। दुवैपक्षले स्पष्टीकरण दिने ७२ घण्टाको समय शुक्रबार बेलुका सकिने भएपनि जवाफ नदिने नेताहरुले बताएका छन्।
जसपाको यादव–भट्टराई पक्षले गत जेठ ८ गते कार्यकारिणी समितिको बैठक बसेर ठाकुर, महतोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले पार्टी विधानविपरित कार्य गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। जसपाको कार्यकारिणी समितिको बैठकको निर्णय बमोजिम चारै जनालाई गत मंगलबार ७२ घण्टे स्पष्टीकरण पत्र पठाइएको थियो।
त्यस्तै अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टी विधान विपरित कार्य गरेको भन्दै ७ बुँदे स्पष्टीकरण पत्र पठाएका थिए। ठाकुरले यावदलाई सोधेको स्पष्टीकरणको समय पनि शुक्रबार बेलुका सकिँदै छ। एकै दिन र जवाफ दिने उति नै समय राखेर स्पष्टीकरण सोधे पनि दुबैपक्षले जवाफ नदिने भएका छन्।
जसपा नेता मोहम्मद इश्तियाक राईले अध्यक्ष ठाकुरले व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेकाले जवाफ दिन जरुरी नभएको प्रक्रिया दिए। ‘महन्थजीले कुनै बैठक गरेर स्पष्टीकरण सोध्नु भएको होइन। पत्रको व्यहोरा हेर्दा व्यक्तिगत रुपमा सोध्नु भएको जस्तो छ,’ राईले भने, ‘व्यक्तिगत रुपमा सोधिएको स्पष्टीकरणको जवाफ दिनुपर्छ जस्तो लाग्दैन, त्यो पर्दैन पनि।’ तर, कार्यकारिणी समितिको बैठकले स्पष्टीकरण सोधेका ठाकुर, महतो, कर्ण र शुक्लाले जवाफ दिनैपर्ने उनको जिकिर छ।
‘जसपाको नेतृत्वमा संयुक्त सरकार बन्ने स्थिति आउँदा चुपचाप लाग्नुभयो। त्यसमा कुनै पहल लिनु भएन,’ उनले भने, ‘तर,संविधान, लोकतन्त्र, परिवर्तनका सबै उपलब्धी सिध्याउन लागेका केपी ओलीलाई साथ दिएर मतियार बन्नु भयो। त्यसैले स्पष्टीकरण सोधेका छौं, त्यसको जवाफ दिनुपर्छ।’
व्यक्तिगत रुपमा स्पष्टीकरण नसोधिएको बताउँदै राईले पार्टी विधानविपरित र अनुशासन विपरित कार्य गरेकाले चार नेताले त्यसको चित्त बुझ्दो जवाफ दिनुपर्ने बताए। पार्टी एकतावद्ध बनाउन चार नेताले स्पष्टीकरणको जवाफ दिएर जेठ २ गतेको निर्णयमा फर्किनु पर्ने उनको भनाइ छ।
अध्यक्ष यादव–भट्टराई पक्षले ठाकुर–महतो लगायतका नेतालाई स्पष्टीकरण सोध्ने अधिकारै नभएको उक्त पक्षका एक नेताले बताए। ‘उपेन्द्र यादवलाई पहिलो वरियताको अध्यक्षलाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने अधिकार कसरी भयो? कार्यकारिणी समितिको बैठक स्थगित भइसकेपछि कसरी बैठक बस्यो? कसरी स्पष्टीकरण सोध्ने कारबाही गर्ने अधिकार हुन्छ?,’ ति नेताले भने, ‘यसरी गुटको भेला गरेर सोधिएको स्पष्टीकरणको जवाफ आउँदैन र दिन पनि दिन्नौं, त्यो नौटंकी मात्रै हो।’ पार्टीमा स्पष्टीकरण सोध्ने, कारबाही गर्ने धम्की दिएर पार्टी विभाजनतर्फ नलाग्न ति नेताले अध्यक्ष यादवलाई चेतावनी दिए।
यादव–भट्टराई पक्षद्वारा स्पष्टीकरण सोधिएका नेता कर्णले आफूले पत्र नै प्राप्त नगरेको भन्दै कहाँ गएर जवाफ दिने भन्दै प्रश्न गरे। ‘हामी चार जना नेतालाई स्पष्टीकरण सोधियो, पत्र पठाइयो भन्ने सुनेका हौं’, कर्णले भने, ‘अहिलेसम्म पत्र प्राप्त भएको छैन। पत्र आएपछि सल्लाह गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।