नेपालमा झन्डै ४० वर्ष अघिदेखि एमबिबिएस कार्यक्रम सुरु भएको हो । त्योभन्दा पहिले एमबिबिएस पढ्नको लागि नेपाल बाहिर नै जानुपथ्र्यो । अनि बाहिरी मुलुकबाट एमबिबिएस वा सो सरहको पढाइ सकेर आएका मध्ये अधिकांशले विशेषज्ञचिकित्सक बन्न आवश्यक पर्ने स्नातकोत्तर (एमडी, एमएस वा डीएम, एसीएच वा सो सरहका) तहको पढाइ अर्थात् पोस्ट ग्राजुएट रेसिडेन्सी (पिजी) तालिम लिन पनि विदेशमा जानुको विकल्प थिएन । तीमध्ये अधिकांशले भारत र बेलायतबाट र केहीले बंगलादेश, रुस लगायतका देशबाट तालिम लिएर आउने गर्थे।
नेपालबाट एमबिबिएस गरेका चिकित्सकहरुलाई नेपाल बाहिरबाट पढेर आएकाहरुले जस्तो अन्य छिमेकी मुलुकहरुमा सञ्चालित स्नातकोत्तर तहको तालिम प्राप्त गर्न सहज थिएन । भारतमा त उनीहरुलाई बन्देज जस्तै थियो । नेपालमा सञ्चालित एमबिबिएस कार्यक्रम नवीन प्रकारको भएकोले उनीहरुले त्यसबेला यसको महत्व र सान्दर्भिकता बुझ्नै सकेनन् । तर, उनीहरुमा रहेको उक्त भ्रम समयक्रममा बिस्तारै चिरिँदै गयो।
नेपालमा क्रमिक रुपमा एमबिबिएसका साथै विभिन्न विधामा पिजी तहको तालिम विस्तार हुँदै गयो । अहिले त चिकित्सा विज्ञानभित्रका धेरै विधामा नेपालमा नै उच्चस्तरीय विशेषज्ञ (डिएम सरहका) कार्यक्रमको पठनपाठन समेत चलिरहेको छ । मुलुकमा चिकित्सा शिक्षाको क्षेत्रमा भएको यो विकास निश्चित रुपमा गर्व गर्न लायक छ । तथापि नेपालमा पिजी तालिमका सन्दर्भमा केही गम्भीर समस्या र चुनौतीहरु छन्।
स्नातक र स्नातकोत्तरको सिटमा ठूलो असन्तुलन
हरेक वर्ष नेपालमा करिब दुई हजारको संख्यामा एमबिबिएस डाक्टर उत्पादन हुन्छन् । नेपाल बाहिरबाट एमबिबिएस अध्ययन गरेर आएकाहरुलाई समेत जोड्ने हो भने यो संख्या करिब २५ सय जति पुग्छ । जनसंख्याको अनुपातमा थोरै चिकित्सक भएको हाम्रो देशका धेरै व्यक्ति र विशेषगरी ग्रामीण भेगमा बसोबास गर्ने जनसमुदाय एमबिबिएस तहको पढाइ पूरा गरेर आएका डाक्टरलाई रोगको निदान र उपचार सम्बन्धी सबै ज्ञान, सीप र क्षमता हुन्छ भन्ने सोच्छन् । तर, त्यो एउटा भ्रम मात्र हो।
खासमा एमबिबिएस पढेको डाक्टरले चिकित्सा विज्ञानमा जान्नुपर्ने कुरा कति धेरै रहेछ र त्यसको तुलनामा आफूले अहिलेसम्म आर्जन गरेको ज्ञान कति सीमित रहेछ भन्ने कुरा थाहा पाउँछ । त्यसैले उनीहरु पिजी तालिम लिएर एउटा न एउटा क्षेत्रमा विशेषज्ञता हासिल गर्न खोज्छन् । तसर्थ एमबिबिएस पढेपछि विशेषज्ञता हासिल गर्ने यस्तो हुटहुटी लाग्नु स्वाभाविकै हो।
दुर्भाग्यवश अहिले नेपालमा स्नातकोत्तर तहका लागि उपलब्ध कुल सिट करिब ५ सयको हाराहारीमा छन् । त्यसैले हरेक वर्ष पिजी गर्ने इच्छा राख्ने २ हजार जनाले नेपालभित्र हाल त्यस्तो मौका पाउँदैनन् । उनीहरुमध्ये पढाइमा अब्बल हुनेहरुले नाम निकालेर कि मुलुकभित्रै पिजी तालिम लिन्छन् नत्र अमेरिका, बेलायत वा अस्ट्रेलियातर्फ लाग्छन् र उतै हराउँछन् । पढाइमा तुलनात्मक रुपमा अलि पछाडि परेका तर पैसा टन्न भएकाहरु विभिन्न देशमा पिजी तालिम लिन जान्छन् । कतिपयले त असाध्यै सजिलो बाटो रोज्छन्। त्यो भनेको पैसाको मुठो बोकेर प्रवेश परीक्षामा प्रतिस्पर्धा पनि गर्नुनपर्ने र त्यहाँको स्थानीय भाषा समेत नसिकीकन पिजीको तालिममा भर्ना हुन्छन् । बिरामीले बोल्ने भाषामा आधारभूत ‘निपुणता’ वा पकड नभएको कारणले बिरामीको रोगको निदान र उपचारको लागि अत्यावश्यक मानिने व्यावहारिक क्लिनिकल ज्ञान, सीप र अनुभव हासिल गर्न नसक्ने हुनाले उनीहरुको क्लिनिकल क्षमता कमजोर हुनुलाई अस्वाभाविक मान्न सकिन्न।
सजिलो बाटोबाट पिजी डिग्री आर्जन गर्न सकिन्छ भनेर चिनिएका ती देशका त्यस्ता तालिम प्रदायक संस्थाका पदाधिकारीहरुले समेत यी चिकित्सकहरु हाम्रो देशमा रहेर काम गर्ने होइनन्, उनीहरुको आफ्नो देशमा गएर जेसुकै गरुन् भन्ने भावनाले गर्दा नै होला, कमजोर विद्यार्थीलाई समेत पास गराएर पठाउने प्रवृत्ति हावी रहेको देखिन्छ । यसले गर्दा नेपाल वा भारत जस्ता मुलुकमा प्रचलित परीक्षाभन्दा ती देशहरुका तालिम दिने संस्थाहरुले लिने परीक्षा फितलो हुन्छ कि भनेर शंका गर्ने आधार छ । नत्र नेपाल मेडिकल काउन्सिलको परीक्षामा त्यस्ता देशमा तालिम लिएर आएका विद्यार्थी कसरी त्यति ठूलो प्रतिशत अनुत्तीर्ण भए त ? यो रोग बिस्तारै अन्य देशहरुमा पढेर आउने विद्यार्थीमा समेत बढ्ने क्रममा रहेको प्रतित हुन्छ।
नेपाल मेडिकल काउन्सिलको हालैको परीक्षा परिणामले मुलुकको सिङ्गो चिकित्सा क्षेत्रलाई नै स्तब्ध बनायो । परीक्षा दिएकामध्ये ७० प्रतिशत फेल हुनु भनेको अत्यन्त दुःखलाग्दो, लाजमर्दो र चिन्ताजनक मात्र नभएर एउटा गम्भीर विषय पनि हो ।
स्नातकोत्तर कार्यक्रममा एकरुपताको अभाव
प्रायः सबैजसो विकसित मुलुकहरुमा चिकित्सा विज्ञान सम्बन्धी स्नातकोत्तर तहको रेसिडेन्सी तालिम कार्यक्रमको सञ्चालन, परीक्षा र प्रमाणपत्र प्रदान गर्ने कार्य विश्वविद्यालय अन्तर्गत पर्दैन । विश्वविद्यालयहरुले चिकित्सा शास्त्रमा मूलतः स्नातक तहसम्मको पढाइको जिम्मा लिने गर्छन्।
स्नातकोत्तर तहको पढाइ चाहिँ राज्यबाट चिकित्सा विज्ञानको विभिन्न विधामा उच्च गुणस्तरीय तालिमलाई आवश्यक पर्ने पाठ्यक्रम र मापदण्ड निर्माण र त्यसको उचित कार्यान्वयन सम्बन्धी प्रभावकारी नियमनद्वारा पेशागत दक्षताको सुनिश्चितता गर्ने जिम्मा विश्वविद्यालयभन्दा बाहिरका गैर–नाफामुखी स्वायत्त निकायहरुले पाएका हुन्छन् । जस्तैः बेलायत, क्यानाडा र अस्टे«लियामा त्यहाँका रोयल कलेजहरुले सो भूमिका निर्वाह गर्छन् । यस्ता कलेजहरु विश्वविद्यालयका अंग भने हैनन् । अमेरिकामा चाहिँ यस्तो जिम्मा स्पेसियालिटी बोर्डले लिएको हुन्छ । युरोपका प्रायः सबैजसो मुलुकमा समेत पिजी तालिम, परिचयको सञ्चालन र उपाधि प्रदान गर्ने काम स्पेसियालिटी बोर्डले नै गर्ने प्रचलन छ । त्यस्तै, हाम्रै दक्षिण एसियाको कुरा गर्दा पाकिस्तानमा समेत ‘कलेज अफ फिजिसियन्स एन्ड सर्जन्स’ ले यस्तो काम गर्छ।
तर, नेपालमा चिकित्सा शिक्षामा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्ने बेलाका अगुवाहरुले विश्वका अन्य प्रचलित प्रणालीलाई हेर्नुको सट्टा भारतीय प्रणालीको नक्कल गर्ने अदूरदर्शी काम गर्न पुगे । किनकि सापेक्षिक रुपमा त्यो सजिलो बाटो थियो । त्यसैले गर्दा हाल नेपालमा हरेक विश्वविद्यालय तथा प्रतिष्ठानले आ–आफ्नो पिजी कार्यक्रम सञ्चालन गरेर बसेका छन् । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्था (आइओएम) र काठमाडौं विश्वविद्यालय मात्र हैन, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र हालै प्रकाशित सूचना अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका समेत आ–आफ्नै खाले पिजी कार्यक्रम सञ्चालन गर्दै आएका वा गर्नेवाला छन्।
विकसित मुलुकमा एउटै विधाको पिजी कार्यक्रम तालिम प्रदान गर्ने संस्थैपिच्छे फरक–फरक खालको हुँदैन । उदाहरणको लागि अमेरिका वा क्यानाडामा सञ्चालन हुने स्नातकोत्तर तहको तालिम प्रणाली अनुसार तालिम प्रदान गर्ने कुनै पनि अस्पतालमा प्रशिक्षणको पाठ्यक्रम, तालिम विधि र विशेषज्ञ बन्न पास गर्नुपर्ने परीक्षा प्रणालीमा एकरुपता हुन्छ । उनीहरुले तोकेको पाठ्यक्रम र तालिम पूरा गरेपछि राष्ट्रिय रुपमा सञ्चालन गरिने परीक्षा लिन्छन् र त्यसमा उत्तीर्ण हुनेलाई विशेषज्ञ तहको उपाधि प्रदान गर्छन्।
नेपालमा भने पिजी कार्यक्रम सञ्चालन गर्ने प्रत्येक विश्वविद्यालय वा प्रतिष्ठानको आ–आफ्नै प्रवेश परीक्षा, पाठ्यक्रम, तालिम विधि र परीक्षा प्रणाली रहेकोले एकरुपताको अभाव छ । यसका साथै कसको प्रवेश परीक्षा कहिले हुने, कसको पढाइ कहिले सुरु हुने र पठनपाठनको प्रभावकारी व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि एकरुपता छैन । यी सबै कारणले पिजी तालिमको गुणस्तरीयतामा पनि एकरुपता सुनिश्चित नहुने कुरा प्रस्टै छ ।
महँगो शुल्क तिर्न नसक्नेहरु पिजीको अवसरबाट वञ्चित
संसारको कुनै पनि सभ्य मुलुकमा स्नातकोत्तर तहमा पढ्ने वा तालिम लिने व्यक्तिसँग शुल्क लिनु त टाढाको कुरा, उल्टै ती प्रशिक्षार्थी चिकित्सकहरुलाई तलब दिइन्छ । प्रशिक्षार्थी चिकित्सकलाई दिइने तलब तालिम पूरा गरेर विशेषज्ञ भइसकेकाको जति नभए पनि त्यो तलबले उनीहरुलाई औंसत तरिकाले जीवन बाँच्न पुग्छ।
नेपाल चाहिँ एउटा यस्तो देश हो, जहाँ स्नातकोत्तर तहको तालिम प्राप्त गर्न महँगो शिक्षण शुल्क तिर्नुपर्ने हुन्छ । सुन्नमा आए अनुसार, निजी क्षेत्रमा सञ्चालित कार्यक्रमहरुमा त्यसका लागि करोड रुपैयाँभन्दा बढी शुल्क तिर्नुपर्छ ।
बुझ्नुपर्ने कुरा के छ भने पिजी तहको अध्ययन भनेको एमबिबिएस तहमा जस्तो बिहानदेखि बेलुकीसम्म प्राध्यापकहरुको एकोहोरो भाषण सुनेर नोट टिप्ने, पढ्ने र कण्ठस्त पार्ने हैन । अस्पतालमा आउने बिरामीहरुको समस्याको निदान र उपचार कार्यमा खटिएर व्यावहारिक अनुभव हासिल गरी सिक्ने तालिम हो
स्नातकोत्तर तहमा पढ्नेहरु पहिले नै डाक्टर भइसकेको हुनाले उनीहरुले स्वतन्त्र रुपमा चिकित्सा विज्ञानको अभ्यास गर्न पाउँछन् । उनीहरुले आफूले रोजेका विषय सम्बन्धी विशेषज्ञ सेवा प्रवाह गर्न सक्रिय रुपमा संलग्न हुन्छन् र बिरामीहरुको रोगको निदान र उपचारमा सहभागी हुने प्रक्रियामा पेशागत ज्ञान र दक्षता हासिल गर्छन्।
त्यसैगरी यदि स्नातकोत्तर तहमा अध्ययनरत पिजी विद्यार्थी नभएको भए मेडिकल कलेजका अस्पतालमा आवश्यक पर्ने डाक्टरहरुलाई मेडिकल अफिसरको पद खडा गरेर जागिर दिएर राख्नुपर्ने हुन्थ्यो । तर, पिजी कार्यक्रम सञ्चालन भएको ठाउँमा स्नातकोत्तर तहको प्रशिक्षार्थीले नै सो काम सम्पन्न गर्ने हुनाले त्यसको लागि मेडिकल अफिसरहरु आवश्यक पर्दैन । उनीहरुले प्रदान गर्ने सेवा बढी गुणस्तरीय पनि हुने गर्छ । यसले गर्दा मेडिकल अफिसरहरुलाई दिनुपर्ने तलब पिजी विद्यार्थीहरुलाई दिँदा अस्पताललाई नोक्सान पर्ने देखिँदैन । यति धेरै खटेर काम गर्ने पिजी विद्यार्थीहरुको श्रम र पसिनालाई तालिमको नाममा शोषण गर्न उचित हुन्छ र ?
सौभाग्यवश, व्यापक जनदबावको कारणले नेपाल सरकारले पनि पिजी तालिम निःशुल्क गर्नेतर्फ पहल गरेको छ । त्यस्तै, निजी क्षेत्रमा सञ्चालित मेडिकल कलेजहरुले पनि विश्वविद्यालयले तोकेको शुल्कभन्दा बढी लिन नपाउनेतिर चौतर्फी दबावको सिर्जना हुनु सकारात्मक कुरा मान्नुपर्छ । तर, पिजी तालिमलाई पूर्णरुपमा निःशुल्क नगरेसम्म आर्थिक रुपमा पछाडि परेका योग्य चिकित्सकहरुको ठूलो संख्या सो तालिम लिनबाट वञ्चित हुने परिस्थिति अन्त्य हुँदैन।
विद्यार्थी छनोटमा पनि लटरपटर
नेपालको पिजी प्रणालीमा देखापरेका विभिन्न बेथितिमध्ये विद्यार्थी छनौटका क्रममा गरिने लटरपटर पनि एउटा महत्वपूर्ण पक्ष हो । जसले बढी पैसा खातामा छिटो जम्मा गरिदिन सक्यो, उही नै योग्यता पुगेको ठहरिएर भर्ना हुने चलन व्याप्त छ । अर्कातिर, आर्थिक हैसियत सबल नभएको खण्डमा योग्य चिकित्सकले पनि पढ्न नपाउने स्थिति कायम छ।
विषयप्रति लगाव भएको, आवश्यक बौद्धिक क्षमता, मिहिनेत र उत्साह भएको मानिस ठानेको भए भोलि एउटा राम्रो विशेषज्ञ उत्पादन हुने सम्भावना रहन्थ्यो । आवश्यक क्षमता नभएको व्यक्तिले पैसाको भरमा अवसर पाउँदा उसलाई सम्बन्धित विषयको आधारभूत ज्ञान आर्जन गरेर उत्तीर्ण हुनलाई नै हम्मेहम्मे पर्छ, योग्य र दक्ष हुनु त टाढाको कुरा भयो !
पिजी अध्ययनका क्रममा योग्य विद्यार्थीलाई पन्छाएर कमजोरलाई पैसाको बलमा भर्ना गर्ने कार्यलाई रोक्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेश अत्यन्त स्वागतयोग्य छ । अब्बल विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने बाटो खुला गरिदिएको यो निर्णय वास्तवमै ऐतिहासिक छ । तर, अब्बलताको आधार र सोको मापन गर्ने मापदण्ड चाहिँ बढी वैज्ञानिक र सन्तुलित बनाइनु आवश्यक छ । तथापि आगामी दिनमा पनि यो नजिरलाई कायम राख्दै स्नातकोत्तर तहमा पैसाको आडमा होइन, योग्य विद्यार्थीले मात्र अध्ययन गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ ।
पाठ्यक्रमलाई समसामयिक बनाइराख्नुपर्ने
पिजी विषयको पाठ्यक्रमलाई उपयुक्त र समसामयिक बनाउनको लागि विद्यमान पाठ्यक्रमहरुको निर्मम समीक्षा गरिनु आवश्यक छ । २१औं शताब्दीको स्वास्थ्य चुनौतीलाई सामना र समाधान गर्न सक्ने विशेषज्ञ चिकित्सकहरुको आवश्यकता छ भने पाठ्यक्रम पनि त्यस्तै खालको चाहिन्छ । पिजी तालिमलाई उपयुक्त र गुणस्तरीय बनाउने सम्बन्धमा हाल विश्वमा स्थापित अवधारणा र मान्यताहरुको आलोकमा पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्नु जरुरी हुन्छ । अहिले विकसित मुलुकमा व्यापक रुपमा स्विकारिएको ‘क्षमतामा आधारित तालिम’ (कम्पिटेन्सी बेस्ड ट्रेनिङ) प्रणालीलाई नेपालको पिजी प्रणालीमा अंगीकार गर्न ढिला भइसकेको छ । यस कार्यलाई द्रुत गतिमा अगाडि बढाइनुपर्छ ।
पाठ्यक्रमको कार्यान्वयन प्राध्यापकहरुले नै गर्ने हुन् । तसर्थ प्राध्यापकहरु पनि नयाँ कुराप्रति जिज्ञासु, संवेदनशील र रचनात्मक हुनुपर्छ । भोलि म जस्तै विशेषज्ञ बन्ने विद्यार्थीलाई मैले सकेसम्म बढी ज्ञान–सीप दिनुपर्छ र बिरामीप्रति संवेदनशील र जिम्मेवार हुने सोच र संस्कारको विकास गराउनुपर्छ भन्ने दायित्वबोध हुनु अत्यावश्यक छ । त्यसका साथै विद्यार्थीहरुलाई आलोचनात्मक दृष्टिकोण राखेर प्रकाशित वैज्ञानिक आलेखहरुलाई विश्लेषणात्मक ढंगले केलाउने र त्यसको सही व्याख्या गर्दै उपयुक्त सार निकाल्ने सीप पनि विकास गरिदिनु अति महत्वपूर्ण छ । आफ्ना विद्यार्थीहरु अझै बढी योग्य र सक्षम होस् भन्ने प्राध्यापकहरुको सोचाइ हुनुपर्ने भए पनि व्यवहारमा त्यसो हुन सकेको हैन ।
चिकित्सा शिक्षाको क्षेत्रमा विकसित हुँदै आएका नयाँ मान्यताहरुलाई आत्मसात् नगरी पुरानै शैलीमा रटाइरहने प्राध्यापकहरुको सोचाइ र व्यवहारमा सुधार ल्याउनु वाञ्छनीय हुनेछ ।
परीक्षा प्रणालीमा सुधार जरुरी
हाम्रो पिजी तहको परीक्षा प्रणाली पनि एकदमै परम्परागत प्रकृतिको छ । तालिमको क्रममा विद्यार्थीलाई कुनै विभाग वा शाखाविशेषमा जे सिक्न भनेर पठाइएको थियो, त्यो सिक्यो कि सिकेन ? जे सीप आर्जन गर्न पठाइएको थियो, त्यो आर्जन भयो कि भएन भन्नेबारे प्रशिक्षण प्रक्रियामा सहभागी प्राध्यापकहरुले हरेक चरणमा प्रशिक्षार्थीहरुको मूल्यांकन र अनुगमन गर्नुपर्छ । उसका कुनै गल्ती–कमजोरी देखिएका वा भेटिएका छन् भने सम्बन्धित विद्यार्थीलाई बेलैमा सचेत गराउनुपर्छ । उसको सक्षमतालाई सराहना र कमजोरीलाई हटाउन मद्दत गर्नुपर्छ । तर, हाम्रो सन्दर्भमा अझै पनि यी पक्षमा त्यति व्यवस्थित काम हुन सकेको छैन र विभिन्न तहमा थुप्रै चुनौती देखिएका छन्।
कुनै पनि विषयलाई गम्भीरतापूर्वक नलिने र आफूले बोलेका कुरामा जिम्मेवारी नलिने स्वभाव नेपालीहरुको जन्मजात गुण जस्तो भइसकेको छ । कतिपय वरिष्ठ चिकित्सकहरुमा प्राध्यापक हुन रहर गर्ने तर विद्यार्थीको पेशागत दक्षता, असल नैतिक मूल्य–मान्यताको विकासमा संवेदनशील नहुने प्रवृत्ति हावी छ । यसो हुँदा विद्यार्थीले तोकिएको अवधिको शर्त त पूरा गर्ला, तर त्यस अवधिमा सिक्नुपर्ने सीप र अनुभव हासिल नगरेको हुन सक्छ ।
कागजमा हेर्दा विद्यार्थीले पाठ्यक्रममा तोकिएको ठाउँमा तोकिएको अवधि बिताएको देखिएला, तर उक्त अवधिमा अपेक्षित अनुभव र सीप हासिल गर्न नसकेमा नेपाल मेडिकल काउन्सिलको पछिल्लो विशेषज्ञको प्रवेश परीक्षामा झैं धेरै परीक्षार्थी असफल भएको नतिजा देखिने खतरा रहन्छ।
कतिपय प्राध्यापकहरुमा मेरो काम जसोतसो पढाउने हो, ती विद्यार्थी पास वा फेल जे भए पनि के मतलब भन्ने सोच पनि पाइन्छ । स्नातकोत्तर तहमा तालिम लिँदै गरेका ती विद्यार्थीहरुको पठनपाठनमा धेरैको लगानी हुन्छ । उचित अभिमुखीकरण र मार्गदर्शन बेलैमा नपाएर उनीहरु असफल हुन पुगेमा त्यसबाट हुने नकारात्मक परिणाम सिङ्गो समाजले बेहोर्नुपर्ने हुन्छ।
विशेषज्ञ चिकित्सकको तालिम दिँदै गर्दा अन्तर्राष्ट्रिय जगतले हाम्रा विशेषज्ञ चिकित्सकहरुको पेशागत दक्षताबारे के–कस्ता धारणा बनाउलान् भन्नेतर्फ पनि विचार गर्नुपर्छ । त्यसैले सम्भव भएसम्म पेशागत उत्कृष्टता हासिल गर्नेतर्फ विद्यार्थीलाई प्रेरित गरिरहनुपर्छ ।
विशेषज्ञ चिकित्सकमा हुनुपर्ने गुणहरु
विशेषज्ञ चिकित्सकहरुको बारेमा संसारभर छलफल र चर्चा भइरहेको छ । यस क्रममा विभिन्न दृष्टिकोण आएका छन् । विशेषज्ञ चिकित्सक भन्नासाथ उसले पेशागत दक्षता हासिल गरेको हुनुपर्छ । आफूले लिएको विधामा ऊ पारंगत हुनुपर्छ । पारंगत हुनु भनेको आफ्नो क्षेत्रमा उल्लिखित सबैजसो रोगसम्बन्धी ज्ञान, तिनलाई पहिचान गरेर निदान गर्ने क्षमता र तिनको उपचारका लागि आवश्यक पर्ने दक्षता हुनुपर्छ ।
चिकित्सा विज्ञान प्राविधिक विषय भएकोले सामान्य नागरिकलाई स्वास्थ्य वा रोगसम्बन्धी कतिपय अवधारणा क्लिष्ट र अमूर्त लाग्ने हुनाले उनीहरुलाई प्राविधिक शब्दको अर्थ र मर्म बुझ्न गाह्रो हुन सक्छ । त्यसैले चिकित्सकले बिरामी र तिनका आफन्तसँग रोग र उपचारबारे अन्तक्र्रिया गर्दा कोरा प्राविधिक भाषा मात्रै प्रयोग गर्नु उपयुक्त हुँदैन । त्यसैले ती क्लिष्ट र अमूर्त विषयलाई बिरामी र आफन्तले प्रस्टै बुझ्ने ढंगले सरल रुपले व्याख्या र परामर्श गर्न सक्ने संवाद–सीप हुनु पनि महत्वपूर्ण छ ।
अर्कातिर, विशेषज्ञ चिकित्सक बिरामीको हितको रक्षा गर्ने संवाहक बन्न आवश्यक छ । उसमा बिरामीको हितको पक्षमा पैरवी गर्ने इच्छा, प्रतिबद्धता र क्षमता हुनुपर्छ । उपचारका क्रममा बिरामी र उनका आफन्तले विभिन्न जोखिम समेत बेहोर्नुपर्ने हुनाले यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकले सकेसम्म समस्याको सम्बोधन गर्ने, समाधान खोज्ने र प्रेरणा दिने खालको भूमिका निर्वाह गर्न जरुरी छ ।
एउटा विशेषज्ञ आफ्नो विधामा जतिसुकै पारंगत भए पनि कहिलेकाहीँ बिरामीका अन्य धेरै समस्याबारे उसलाई जानकारी नहुन सक्छ । यस्तो अवस्थामा उसले अरु रोगका जानकारसँग परामर्श लिन हिचकिचाउनु हुँदैन । राम्रो डाक्टर त्यसैलाई मानिन्छ, जसले आफ्नो विधाभन्दा बाहिरको समस्या देखिएमा अरुसँग सल्लाह लिन्छ । तर, हामीकहाँ त कतिपय चिकित्सकहरुमा म सबै विषयको जानकार हुँ भन्ने भ्रम छ । यो गलत हो । जस्तैः एउटा सर्जनले बिरामीको अपरेशन गर्ने क्रममा बेहोश गराउने डाक्टर, नर्स तथा अन्य व्यक्तिहरुको सहयोग लिनुपर्ने हुन्छ । म मात्रै महत्वपूर्ण, अरु त केही पनि होइनन् भन्ने सोचले बिरामीको सही उपचार हुन सक्दैन । टिमका सबै सदस्यको सहयोगमा मात्रै उपचार दिन सकिन्छ भन्ने तथ्यलाई गम्भीरतापूर्वक हृदयंगम गर्नुपर्छ । त्यसो नगरे उसले असल विशेषज्ञको रुपमा काम गरेर सफलता हासिल गर्न सक्दैन ।
विशेषज्ञ चिकित्सकको एउटा महत्वपूर्ण धर्म उसले आफ्नो पेशागत जीवनमा आर्जन गरेका ज्ञान र अनुभवको भण्डार अर्को पुस्तालाई हस्तान्तरण गर्नु पनि हो । विगतका विशेषज्ञहरुले आफूले जानेका पेशागत ज्ञान, सीप र अनुभवलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै आएका कारण अहिले हामीले मानवलाई लाग्ने थुप्रै रोग र तिनका उपचार प्रक्रियाबारे धेरै जानकारी पाउन सकेका हौं । त्यसै गरेर भोलिका दिनमा उत्पादन हुने विशेषज्ञ चिकित्सकहरुलाई पनि अझ योग्य र सक्षम बनाउन आफ्नो ज्ञान र सीप नयाँ पुस्तामा हस्तान्तरण गर्नु सबै विशेषज्ञ चिकित्सकको कत्र्तव्य हुन आउँछ ।
अनुसन्धान गर्न र ज्ञानका विधामा नयाँ खुड्किला थप्नेतर्फ पनि एउटा असल विशेषज्ञको ध्यान जानुपर्छ र सम्बन्धित विधाको उपचार पद्धतिलाई अझै परिमार्जन गर्ने र चुस्त तुल्याउनेतर्फ लाग्नुपर्छ । यस अर्थमा उसले अगुवाको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रणालीलाई पनि अझै सुदृढ र परिमार्जित बनाउने दायित्व पनि उसको काँधमा रहेको छ भन्ने कुरा पनि यहाँ स्मरण गर्नु उपयुक्त हुन्छ ।
एउटा राम्रो विशेषज्ञ चिकित्सक बन्न चाहिने विभिन्न गुणहरुको बारेमा माथि नै चर्चा गरिसकिएको छ । विशेषज्ञ चिकित्सकको बारेमा हाल विश्वमा स्थापित नवीनतम अवधारणा पनि यही नै हो । क्यानाडाका चिकित्सा शिक्षाविद्हरुले सशक्त ढंगले पैरवी गर्दै आएको ‘क्यानमेड्स फ्रेमवर्क’ भन्ने अवधारणा छ । सो अवधारणामा एउटा राम्रो विशेषज्ञ चिकित्सकसँग पेशागत विज्ञता (मेडिकल एक्स्पर्ट), पेशाधर्मिता (प्रोफेशनालिज्म), राम्रो सञ्चार सीप, समन्वयकर्ता, नेतृत्वकर्ता, स्वास्थ्यको पैरवी गर्ने प्रतिबद्धता जस्ता गुण हुनुपर्ने भनिएको छ । हामीले पनि विशेषज्ञ चिकित्सकको बारेमा विचार–विमर्श गरिरहँदा यस्ता गुणले सम्पन्न डाक्टर भनेर बुझ्नुपर्ने हुन्छ ।
नेपाली जनता र विशेषज्ञ डाक्टरको सेवा
नेपाल मेडिकल काउन्सिलले लिएको स्नातकोत्तर तहको परीक्षामा ७० प्रतिशत असफलता चिन्ताको विषय पनि हो । काउन्सिलले केही वर्षअघिसम्म त यस्तो परीक्षा समेत लिँदैनथ्यो । परीक्षाको प्रावधान नै नभएको सो अवधिमा हाम्रो स्वास्थ्य सेवा प्रणालीमा कस्ता ल्याकत भएका विशेषज्ञहरुको प्रवेश भयो होला भन्नेबारे कल्पना गर्दा समेत डर लाग्छ । निजी तथा सार्वजनिक क्षेत्रमा त्यसरी बसेका मानिसहरुको हातमा हाम्रो स्वास्थ्य जिम्मा लगायौं भने त्यसको परिणाम कति भयावह होला ! यहाँ ‘बूढी मरी भन्नुभन्दा पनि काल पल्केला’ भन्ने सवाल महत्वपूर्ण हो ।
माथेमा संयोजकत्वको चिकित्सा शिक्षा आयोगमा पनि यी विषयवस्तुमाथि निकै गम्भीर बहस र छलफल भएका थिए । उक्त छलफलबाट आएका निष्कर्षहरुलाई माथेमा प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ र तिनको समाधानको लागि चालिनुपर्ने नीतिगत कदमहरुको सिफारिस पनि गरिसकिएको छ । ती सिफारिसहरुमध्ये एउटा अख्तियारसम्पन्न चिकित्सा शिक्षा आयोगको स्थापना पनि एक हो । सोही आयोगको स्थापनालाई साकार पार्ने उद्देश्यको लागि डा. भगवान कोइरालाको संयोजकत्वमा सरकारबाट गठित चिकित्सा शिक्षा आयोगले तयार पारेको एकीकृत चिकित्सा शिक्षाको विधेयक हाल संसद्मा विचाराधीन छ ।
अहिले चिकित्सा शिक्षामा भित्रिएका र देखिएका तमाम समस्यालाई सम्बोधनको प्रयास गर्दै चिकित्सा शिक्षा विधेयक तयार पारिएको छ । त्यसमा सिट संख्याको सीमितता, पाठ्यक्रम, परीक्षा प्रणालीको फरक–फरक मापदण्ड र गुणस्तरीयतालाई परिभाषित गर्दै अन्तर्राष्ट्रिय रुपमा सम्बोधित गुणहरुको विकास गर्न नयाँ शिराबाट सुरु गर्ने प्रावधान राखिएको छ ।
माथि उल्लेख गरिएका पिजी सम्बन्धी चुनौतीहरुलाई दीर्घकालीन समाधान गर्न विकसित मुलुकहरुमा जस्तै नेपालमा पनि पिजी तालिमलाई वैकल्पिक प्रणाली कार्यान्वयन गर्ने प्रयोजनको लागि एउटा ‘नेशनल बोर्ड अफ मेडिकल स्पेशियालिटिज्’ को प्रावधान पनि उक्त चिकित्सा शिक्षा विधेयकमा प्रस्ताव गरिएको छ । यो बोर्डले हाल प्रचलित प्रणालीभन्दा भिन्न मोडेलको पिजी कार्यक्रम सञ्चालन गर्ने परिकल्पना गरेको छ । त्यसले मात्र पिजी सिट संख्या, गुणस्तरीयता, एकरुपता र महँगो शुल्कसम्बन्धी समस्याहरुलाई प्रभावकारी ढंगले समाधान गर्ने अपेक्षा गरिएको छ ।
यति हुँदाहुँदै पनि यो ऐन लागू भयो भने हाम्रो नाफामा कटौती हुन्छ कि भन्ने चिन्ताले निजी क्षेत्रका स्वार्थसमूहहरुले त्यसलाई संसद्मै रोक्न खोजेका छन् । यसमा आम नेपाली जनताको दीर्घकालीन हितको पक्षमा उभिँदै सार्वभौम संसद्ले यो विधेयकलाई शीघ्रातिशीघ्र अनुमोदन गर्नुपर्छ । डा. गोविन्द केसीले समेत भद्र आन्दोलनमार्फत यही कुरालाई निरन्तर रुपमा उठाइराख्नुभएको छ । त्यसैले चिकित्सा शिक्षा विधेयकको अनुमोदन र प्रभावकारी कार्यान्वयनबाट मात्र आम नेपाली जनताले विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने सम्भावना रहन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।