प्रकाश शाह।
काठमाडौं- नेकपा (एमाले) ले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको भन्दै सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
बिहीबार एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्। शाहले पटक-पटक पार्टीका निर्णयहरुको अवज्ञा गरेको, पार्टी एकताविरुद्ध र विखण्डनको पक्षपोषण गरेको भनिएको छ।
एमालेको ११ जेठको स्थायी कमिटी बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिइएको समर्थन फिर्ता लिने र एमालेका तर्फबाट मन्त्रिमण्डलमा सामेल भएका मन्त्रीलाई फिर्ता बोलाउन गरेको निर्णयलाई सरकारमा रहेका शाहसहितका केही नेताहरूले अवज्ञा गरिएको स्पष्टीकरण पत्रमा भनिएको छ।
शाहले पदीय गरिमाको चरम दुरुपयोग गर्दै मन्त्रालयलाई पार्टी विरोधीहरुको अखडाका रुपमा प्रयोग गरेको र सभासदहरु लगायत स्थानीय पार्टी नेतृत्वलाई पार्टीविरुद्ध उक्साउने र भड्काउने काम गरेको आरोप लगाइएको छ।
२४ घण्टाभित्र आफ्नो लिखित स्पष्टीकरण प्रदेश कमिटीका अध्यक्षसमक्ष पेश नगरे एमालेको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (ख) बमोजिम कारबाही गर्न सकिने चेतावनी दिइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।