काठमाडौं– वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले अहिले सभामुखले सक्रियता देखाउनुपर्ने बताएका छन्। उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीले दिनदिनै पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने गरेको भन्दै सभामुखको सक्रिय भूमिकाको अपेक्षा गरे।
‘जो हामी गैरसंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरे भनेका छौं। हामीचाहिँ अदालतले फैसला गरे मात्रै सबै कुरा हुन्छ भनेर बस्ने हो भने सबैकुरा सिद्धिनेवाला छ। अझ अप्ठ्यारो दिनहरु आउन बाँकी छ’, उनले भने।
सभामुखले पत्रकारदेखि नागरिक समाजसम्म छलफल गर्नुपर्ने उनको सुझाव थियो। उनले सभामुखले कम्तीमा संसद् जिवित् छ भनेर सन्देश दिनुपर्ने बताए।
‘सभामुखको सक्रियता बढ्न जरुरी छ। असामान्य अवस्था आयो भने भोलि प्रतिनिधि सभाको बैठक पनि डाक्नुपर्ने अवस्था आउँछ भन्ने कुरा पनि यहाँ उठेको छ। योभन्दा असामान्य अवस्था कहिले आउँछ? त्यो अवस्थामा पुग्नुपर्ने स्थिति आउँछ कि आउँदैन, सभामुखले सोच्न जरुरी छ’, उनले भने।
प्रतिनिधि सभालाई दुईदुई पटक विघटन गरेको भन्दै उनले राष्ट्रपतिलाई कलंकित व्यक्तिको रुपमा चित्रित गरे। त्यस्तो व्यक्तिलाई महाभियोग लगाएर आगामी पुस्तालाई सन्देश दिनुपर्ने उनको भनाइ थियो। ‘सभामुखलाई अनुरोध गर्न चाहन्छु, उहाँले सक्रियता बढाउन जरुरी छ। यस्तो ऐतिहासिक दायित्व आएको छ, वास्तवमा। एकातिर राष्ट्रपति जस्तो कलंकित व्यक्ति पनि सुनिएको थियो, अर्कोतिर यस्तो सभामुख पनि थियो, जसले संविधानलाई ट्र्याकमा ल्याउन महत्वपूर्ण भूमिका खेल्यो। त्यो सन्देश दिन सकिने स्थिति भएको हुनाले उहाँले सक्रियता बढाउन जरुरी छ’, उनले आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।