काठमाडौं– संविधानविद् भीमार्जुन आयार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको जालझेल रोक्न नसकेको भन्दै प्रतिनिधि सभाप्रति ‘गुनासो’ व्यक्त गरेका छन्।
बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले संविधान, न्याय र कानुनका विज्ञसँग गरेको परामर्शका क्रममा संविधानविद् आचार्यले थुप्रै अवसर हुँदा पनि प्रतिनिधि सभाले राष्ट्रपति र प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चन गरेको षड्यन्त्रलाई रोक्न नसकेको बताए।
‘सभामुखले जानकारीमा लिन आवश्यक छ, जम्मै खेलहरु अहिले हेर्दाखेरि एउटा ठूलो तिकडम, जालझेल र षड्यन्त्र राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको छ। उहाँहरुले योजनाबद्ध ढंगले संविधानलाई कुल्चने, संविधानलाई नमान्ने, कामहरु गर्नुभयो’, आचार्यले भने, ‘तर, ती तिकडम र जालझेललाई संसदले रोक्न सक्ने, प्रतिनिधि सभाले रोक्न सक्ने, प्रतिपक्षले रोक्न सक्ने पर्याप्त ठाउँ र सुविधा हुँदा खेरी पनि यो संस्थाबाट त्यो कामहरु भएन भन्ने मेरो गुनासो छ।’
प्रतिनिधि सभामा विश्वासको मत लिनु अगाडि माओवादी केन्द्रले सरकारबाट समर्थन लिएपछि नै प्रधानमन्त्री ओली संविधानको धारा ७६ को (३) अनुसारको प्रधानमन्त्रीमा रुपान्तरिक भइसकेका आचार्यको जिकिर छ। तर, प्रतिपक्षी दलले त्यस विषयमा संसदमा कुनै आवाज नउठाएको उनले बताए।
‘माओवादीले समर्थन फिर्ता लिइसकेपछि, ओली ७६(३)को प्रधानमन्त्रीमा रुपान्तरित भएका थिए। केबल एउटा दल नेकपा एमालेको समर्थन उनीसँग थियो, त्यो चिजलाई प्रतिपक्षले विधिसम्मत् ढंगले रेकर्ड गराउन सक्थ्यो, त्यो कुरा हामीले मिस गर्यौं’, आचार्यले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।