काठमाडौं– नेकपा एमाले (ओली पक्ष)ले पार्टीको निर्णय नमान्ने सुदूरपश्चिम प्रदेश सभाका सदस्य (सांसद)हरुलाई कारबाही गरिने चेतावनी दिएको छ।
अध्यक्ष ओली पक्षका नेता एवम् एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले प्रदेशका सांसदहरुले पार्टी केन्द्रले गरेको निर्णय मान्नैपर्ने बताए। केन्द्रको निर्णय नमान्नेलाई कारबाही गरिने उनले चेतावनी दिए।
नेकपा एमालेको सोमबार बसेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिर्ने निर्णय गरेको थियो। स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिइ २४ घण्टा भित्रै सरकारबाट फिर्ता हुन मन्त्रीहरुलाई निर्देशन दिने निर्णय समेत गरेको थियो।
तर, बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारबाट पनि फिर्ता नहुने निर्णय गरेको छ।
प्रदेश संसदीय दलका नेता एवम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले पार्टी केन्द्रले गरेको निर्णय ‘अपरिपक्व’ भएको समेत ठहर गरेको छ।
थापाले भने केन्द्रको निर्णयानुसार सरकारबाट समर्थन फिर्ता नलिने तथा मन्त्रीबाट राजीनामा नदिनेलाई कारबाही गरिने चेतावनी दिए।
‘केन्द्रको निर्णय नमान्नेहरुलाई विधानअनुसार कारबाही हुन्छ,’ नेपाल लाइभसँग कुरा गर्दै थापाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।