फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसको शीर्ष तहका नेताहरुको बैठकले कोभिड-१९ को नियन्त्रण र रोकथाममा सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ। उक्त बैठकले सरकार जनताप्रति उदासीन रहेको सन्देशसहित सभापति शेरबहादुर देउवाले वक्तव्य जारी गर्ने निर्णय गरेको छ।
बुधबार बिहान सभापति देउवानिवासमा बसेको शीर्ष तहको बैठक मूलतः कोरोना संक्रमणको विषयमा केन्द्रित भएको थियो। आजको मूल छलफलको विषय कोरोना महामारी भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए। ‘परीक्षण भएकामा करिब ४७ प्रतिशतमा संक्रमण देखिएको छ। हरेक ६ मिनेटभित्र एक नेपालीको मृत्यु भएको छ,’ नेता केसीले नेपाल लाइभसँग भने, ‘हरेक स्थानीय तहमा परीक्षण बढाउनका साथै खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण फेरि गराइएको छ।’
राष्ट्रको सबै स्रोत साधनलाई कोभिड नियन्त्रणमा केन्द्रित गर्न कांग्रेसले सरकारलाई सुझाएको छ। जनप्रियतावादी र ठूला-ठूला आयोजनाको वर्तमानमा कुरा गरेर त्यसले कोरोना नियन्त्रण नहुने जनाएको छ। ‘सबैभन्दा पहिला जनता बाँच्नुपर्दछ। जनता बाँचे मात्रै राजनीति हुन्छ। जनता बाँचेपछि मात्रै लोकतन्त्र र दलहरु जीवित हुन्छन्,’ नेता केसीले भने, ‘कोभिड नियन्त्रणमा पूर्णत: सरकार असफल भएको बैठकको निष्कर्ष छ।’
जनताले उपचार नपाएको बेलामा चुनावको घोषणाको औचित्य नहुने कांग्रेसले जनाएको छ। मृतकले घाटसमेत नपाएको बेला सरकारले घोषणा गरेको निर्वाचनको उपदेयता नभएको कांग्रेसको निष्कर्ष छ। ‘जनतामाथि सरकारले क्रुरता प्रदर्शन गरेको छ। त्यसको हामीले भर्त्सना गर्दछौं,’ केसीले भने।
निषेधाज्ञा लगाएको सरकारले त्यसबाट जनतामा पार्ने असरका बारेमा सरकार पुरै अनभिज्ञ रहेकोप्रति कांग्रेसले चिन्ता प्रकट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।