काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको विधान विना किन र के आधारमा संसदीय दलको नेता स्वघोषित हुनुभयो भन्दै ७२ घण्टे स्पष्टीकरण सोधेको छ।
अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई ६ बुँदे स्पष्टीकरण सोध्ने क्रममा उपेन्द्र बाबुराम पक्षले महतो दलको नेता कसरी भएको भन्दै प्रश्न गरेका छन्।
पार्टी विधानको व्यवस्था विपरित पार्टीभित्र स्वेच्छाचारिता लाद्ने र पार्टीलाई पकेट बनाउने काममा निरन्तर सहयोग तथा सघाउने कार्य किन गर्नु भएको भन्दै नेता महतोलाई सोधिएको छ।
पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्ने भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कार्यदल भएको कुरा किन र के आधारमा समर्थनगरी पार्टी नीति निर्णय विपरितको कामलाई प्रश्रय दिनुभयो भनि प्रश्न गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै स्पष्टीकरण पत्रमा सोधिएको छ।
पत्रमा पार्टीमा गुटबन्दी गर्ने र अनुशासनभंग गर्ने गराउने कार्य भइरहेकोमा महतोलाई पार्टी विधानको धारा ४९ बमोजिम अनुशासन कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।