काठमाडौं–जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टी विधान विपरित काम गरेकाले किन कारबाही नगर्ने भन्दै ९ बुँदे स्पष्टीकरण सोधेको छ। उपेन्द्र–बाबुराम पक्षले ठाकुरलाई गत ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णय बमोजिम मंगलबार ७२ घण्टे स्पष्टीकरण पत्र पठाएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्दै स्पष्टीकरण पत्रमा सोधिएको छ। यस्तै पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नवनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र केका आधारमा संसदीय दलको नेता घोषणागरी संघीय संसदलाई पत्र पठाएको भन्दै स्पष्टीकरण पत्रमा सोधिएको छ।
पार्टी निर्णयविना राष्ट्रपति कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु लेख्ने/पठाउने कार्य किन गरेको, कार्यकारिणी समितिको बैठकको वेवास्ता गर्ने, अनुपस्तित हुने तर आफ्नो समर्थकलाई मात्र बोलाएर पार्टी विधान र आचार सहिंता विपरित गुटबन्दीपूर्ण क्रियाकलाप किन गरेको भन्दै प्रश्न गरिएको छ।
यस्तै गत जेठ ३ गते दुई अध्यक्षले जारी गरेको ८ बुँदे सहमति किन पालना नगरेको भन्दै प्रश्न गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।