काठमाडौं- नेपाल पत्रकार महासंघले प्रकाशित समाचारलाई लिएर दुई जना सम्पादकलाई अदालतमा बोलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले समाचारको विषयलाई लिएर सोधपुछ गर्न अदालतमा बोलाइएको भन्दै यसलाई प्रेस स्वतन्त्रताविरोधी कार्य भएको समेत उल्लेख गरेको छ।
महासचिव रोसन पुरीले मंगलबार साँझ निकालेको विज्ञप्तिमा इमेजखबर डटकमका सम्पादक राजन कुइँकेल र नेपालसमय डटकमका प्रधानसम्पादक नारायण अमृतलाई सर्वोच्च अदालतले सोधपुछका लागि बोलाएको उल्लेख छ।
'प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति छ', विज्ञप्तिमा उल्लेख छ, 'त्यसलाई बेवास्ता गर्दै मुलुकको न्यायपालिकाको सर्वोच्च संस्था, सर्वोच्च अदालतबाट पत्रकारलाई बोलाएर सोधपुछ गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न आग्रह गर्दछ।'
प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेट भएको समाचार प्रकाशन भएपछि सर्वोच्चले मंगलबार दिउँसो विज्ञप्ति निकालेर समाचारमा कुनै सत्यता नभएको भन्दै 'भ्रामक कुरा प्रकाशन गरे कानुनी कारबाही हुनसक्ने' उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।