काठमाडौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। उक्त कार्यविधिअनुसार बुधबार सुनुवाइ हुनसक्ने भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलका १४६ जना सांसदले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकोले पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार रिट दर्ता गराएका थिए।
कसलाई तोकिएला संवैधानिक इजलासमा
शुक्रबार यो विवादमा पहिलो सुनुवाइ हुनेछ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँचजना न्यायाधीशको इजलास तोक्नेछन्। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश रहेका छन्। तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न मिल्दैन।
अघिल्लोपटक प्रतिनिधि सभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेकाले यो विवादमा पनि उनी संलग्न हुने छैनन्। त्यसैले अब १३ जना न्यायाधीश हुने छन्। यीमध्येबाट चार जना राणाले तोक्नेछन्।
अघिल्लोपटक पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दामा संलग्न भएका चार न्यायाधीशलाई तोक्ने कि नतोक्ने प्रधानन्यायाधीश राणाको अधिकार हुनेछ। इजलास तोकिएमा आफूहरू नबस्ने घोषणा ती न्यायाधीशहरूले गर्नसक्ने छन्। प्रतिनिधि सभा विघटनका विषयमा आफ्नो राय यसअघिको फैसलामा आइसकेकाले पुनः नबस्ने उनीहरूले घोषणा गरेमा सुनुवाइ फेरि सर्नेछ। प्रधानन्यायाधीशले अर्को दिन नयाँ न्यायाधीशसहितको इजलास गठन गर्ने छन्।
अघिल्लोपटक प्रतिनिधि सभा विघटन हुँदा परेको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलास।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि दर्ता भएका रिटमाथि सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको थियो। बहस सुरू हुनु अगाडि नै इजलास गठनप्रति प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए। कार्की बाहिरिएपछि न्यायाधीश सपना प्रधान मल्ल संवैधानिक इजलासमा आएकी थिइन्।
प्रधानन्यायाधीशले नयाँ तोक्न चाहेमा तोकिने न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहने छन्। वरिष्ठताक्रम नमिचिकन इजलास तोकिएमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई नयाँ संवैधानिक इजलासको सदस्य हुने देखिन्छ। संवैधानिक इजलासका लागि रोस्टरमा रहेकामध्ये न्यायाधीश पुरुषोत्तम भण्डारीले भने जेठ १२ गतेदेखि अवकाश पाउन लागेका छन्।
गठबन्धनको तर्फबाट वरिष्ठहरूको ताँती
पाँच दलीय गठबन्धनको तर्फबाट बहस गर्न वरिष्ठ कानुन व्यवसायीहरूको संख्या धेरै देखिएको छ। पूर्वमहान्यायाधिवक्ताहरू, वरिष्ठ अधिवक्ता र राजनीतिक क्षेत्रमा सक्रिय केही कानुन व्यवसायीहरू पनि बहसमा उत्रने भएका छन्।
गठबन्धनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, शतिषकृष्ण खरेल, गोविन्द शर्मा बन्दी, महादेव यादव, प्रेमबहादुर खड्का, मूक्ति प्रधान, शेरबहादुर केसी, बद्रीबहादुर कार्की, गोपालकृष्ण घिमिरेलगायत रहेका छन्।
सोमबार रिट दर्ता गरेपछि पाँच दलका शीर्ष नेतासहित सांसदहरु सर्वोच्च अदालत परिसरमा।
त्यस्तै अधिवक्ताहरू सुनिलकुमार पोखरेल, भीमार्जुन आचार्य, टीकाराम भट्टराई, दिनमणि पोखरेल, मेघराज पोखरेललगायत बहसमा उत्रँदै छन्। त्यस्तै, वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभामा सांसद राधेश्याम अधिकारी, रामनारायाण विडारी, रमेश लेखक, भीम रावल, पुष्पा भुसाल, मिनेन्द्र रिजाल, देव गुरुङलगायतले आफ्नो कुरा राख्ने तयारी गरिरहेका छन्।
यीबाहेक धेरै अधिवक्ताहरूले वकालतनामा भरेका छन्। शु्क्रबार पेशीको दिनमात्र संख्या कति पुग्ने यकीन हुने रिट निवेदकका तर्फबाट मस्यौदामा खटिएका वरिष्ठ अधिवक्ता गोविन्द शर्मा बन्दीले बताए।
रिट दर्ता नहुँदै प्रधानमन्त्रीपक्ष कानुन व्यवसायीको खोजीमा
यता प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा रिट निवेदन दर्ता हुनुभन्दा अघि नै कानुन व्यवसायीको खोजी सुरू गरेका थिए। गत शनिबार अघिल्लोपटक प्रधानमन्त्रीका तर्फबाट बहस गरेका एक संवैधानिक कानुनका जानकार अधिवक्तालाई दोस्रोपटक बहसका लागि आइदिन प्रस्ताव गरिएको थियो। तर, उनले अघिल्लोपटक प्रधानमन्त्रीको विशेषाधिकारको सिद्धान्त स्वीकार गर्दै बहस गरेको तर यो पटक आफू नआउने जानकारी दिए। अघिल्लोपटक महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा सरकारी वकिल प्रतीरक्षाका लागि बहसमा उत्रेका थिए भने यो पटक नयाँ महान्यायाधिवक्ता रमेश बडाल आउने छन्।
बडालको नेतृत्वमा सरकारी वकिलसँगै प्रधानमन्त्री ओलीले केही निजी कानुन व्यवसायी राख्ने इच्छा व्यक्त गरेका छन्। अघिल्लोपटक वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले नेतृत्व गरेका थिए। यसपटक पनि उनलाई नेतृत्व दिने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ। पन्तले गरेकोबाहेक अघिल्लोपटक अरूले गरेका बहस प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका थिए।
अघिल्लोपटक बहस नगरेका केही वरिष्ठ अधिवक्ताहरूलाई पनि प्रधानमन्त्रीका तर्फबाट बहसका लागि प्रस्ताव गरिएको छ। दोस्रो सुनुवाइपछि मात्र बहसमा उत्रनुपर्ने भएकाले प्रशस्त समय भएको भन्दै उनीहरू कानुन व्यवसायीसँग छलफलमा रहेका छन्। शुक्रबार हुने पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी हुने वा नहुने अवस्था हेरेर बहसको खाका बनाउने तयारीमा रहेको प्रधानमन्त्री ओलीनिकट एक कानुन व्यवसायीले बताए।
प्रतिनिधि सभा विघटन सम्बन्धी ३० थान रिट सर्वोच्चमा दर्ता भएका छन्। सर्वोच्चले यसरी दर्ता भएका रिटहरुलाई बिहीबार र शुक्रबार दुई दिन गरेर सुनुवाइ गर्ने भएको छ।
अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको पेशी १३ गते बिहीबार र संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिटको पेशी १४ गते शुक्रबार लागि तोकिएको सर्वोच्च अदालतको मुद्दा महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।