काठमाडौ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। उक्त कार्यविधिअनुसार बुधबार सुनुवाइ हुनसक्ने भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका १४६ जना सांसदले प्रतिनिधि सभा विघटनको विरुद्ध सोमबार रिट दर्ता गराएका थिए।
कसलाई तोकिएला संवैधानिक इजलासमा
शुक्रबार यो विवादमा पहिलो सुनुवाइ हुनेछ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँचजना न्यायाधीशको इजलास तोक्नेछन्। संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश रहेका छन्। तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न मिल्दैन।
अघिल्लोपटक प्रतिनिधि सभा विघटनको मुद्दामा उनले आफूलाई अलग राखेकाले यो विवादमा पनि उनी संलग्न हुने छैनन्। त्यसैले अब १३ जना न्यायाधीश हुने छन्। यीमध्येबाट चार जना राणाले तोक्ने छन्।
अघिल्लोपटक पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दामा संलग्न भएका चार न्यायाधीशलाई तोक्ने कि नतोक्ने प्रधानन्यायाधीश राणाको अधिकार हुनेछ। इजलास तोकिएमा आफूहरू नबस्ने घोषणा ती न्यायाधीशहरूले गर्नसक्ने छन्। प्रतिनिधि सभा विघटनका विषयमा आफ्नो राय यसअघिको फैसलामा आइसकेकाले पुनः नबस्ने उनीहरूले घोषणा गरेमा सुनुवाइ फेरि सर्नेछ। प्रधानन्यायाधीशले अर्को दिन नयाँ न्यायाधीशसहितको इजलास गठन गर्ने छन्।
पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि दर्ता भएका रिटमाथि सुनुवाइका लागि पुस १० गते प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको संवैधानिक इजलास गठन गरिएको थियो। बहस सुरू हुनु अगाडि नै इजलास गठनप्रति प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका थिए। कार्की बाहिरिएपछि न्यायाधीश सपना प्रधान मल्ल संवैधानिक इजलासमा आएकी थिइन्।
प्रधानन्यायाधीशले नयाँ तोक्न चाहेमा तोकिने न्यायाधीशमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंक मोक्तान रहने छन्। वरिष्ठताक्रम नमिचिकन इजलास तोकिएमा दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई नयाँ संवैधानिक इजलासको सदस्य हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।