काठमाडाैं- विपक्षी दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल सकिएको हो।
छलफलमा कांग्रेस सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
बैठकबाट बाहिरिने क्रममा छोटाो प्रतिक्रिया दिँदै केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा दर्ता गरिएको रिटमा कतिपय परिमार्जन गर्नुपर्ने तथा कतिपय ठेगाना नमिलेकोलगायत प्रविधिक विषयमा मात्रै छलफल भएको बताए।
नेपाली कांग्रेसका नेता रमेश लेखकले सर्वोच्चमा रिट दर्ता भइसकेको र अब बहसमा को-को कानुन व्यवसायीलाई अगाडि बढाउने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भएको बताए। बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट दर्ता भएका कारण सर्वोच्चले संसद पुनर्स्थापना गर्ने उनको दाबी छ। 'बहुमत सांसदले रिट दर्ता गरेपछि अदालतले पुनर्स्थापना गर्नैपर्छ,' उनले भने।
प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका दलहरु आगामी रणनीतिका विषयमा छलफल गर्न जुटेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले)को नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले प्रतिनिधि सभा विघटविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।