काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोध गर्न तरुण दलले आग्रह गरेको छ। तरुण दलले सबै जिल्ला संघलाई परिपत्र गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै अन्य संघसँगको सहकार्यमा आन्दोलनका कार्यक्रम गर्न आग्रह गरेको हो।
राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदम संबिधान विपरीत भएको तरुण दलको ठहर छ। उक्त कदम जनता र जनप्रतिनिधिको साझा थलो संसदमाथि गरिएको सबैभन्दा ठूलो धोका भएको तरुणले बताएको छ।
नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न प्रधानमन्त्रीबाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा नेपाल तरुण दलले अन्य सबै दलका युवा संघसँगको सहकार्यमा आन्दोलन गर्ने बताएको छ।
प्रधानमन्त्री र त्यसलाई सघाउने राष्ट्रपतिको राष्ट्रघाती कदमका विरुद्धमा समन्वय गरी संयुक्त संघर्षको कार्यक्रम गर्दा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई ध्यानमा राखी स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।