काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी बैठकले आफूलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयलाई उपाध्यक्ष भीम रावलले हास्यास्पद भनेका छन्। निर्णय सार्वजनिक भएपछि ट्विटरमा लेख्दै उनले त्यसलाई केपी ओली गुटको फुटवादको निरन्तरता भनेका छन्।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरणलगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्काशित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले लेखेका छन्।
सोमबारको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना ‘सांसद’हरु झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, कालिला खान र नीरादेवी जैरुलाई पार्टीबाट निष्कासन गरेको छ।
त्यस्तै, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।