काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले संविधान बनाउँदा केपी ओली जस्ता अहंकारी प्रधानमन्त्रीको कल्पना नै नरहेको बताएका छन्। रिट निवेदन दर्ताका लागि सर्वोच्च अदालत पुगेका थापाले पत्रकारहरु समक्ष ओलीको आलोचना गरेका हुन्।
‘यस्तो संविधान विरोधी, गैरजिम्मेवार, अयोग्य र अहंकारी प्रधानमन्त्री हामीले प्राप्त गरौंला भन्ने कुराको कल्पनै थिएन, जतिबेला हामीले यो संविधान बनायौं। यसरी पटकपटक न्यायालय आउनुपर्छ भन्ने कुरा संविधानको धारा लेख्दै गर्दा अनुमान नै नलगाएको कुरा हो। तर यस्तो स्वेच्छाचारी कार्यकारी प्रमुख भइसकेपछाडि पटकपटक न्यायालय आउनुपर्ने अवस्था भएको छ। यो दुर्भाग्यपूर्ण हो’, थापाको भनाइ छ।
उनले आफूहरु संसद्को पुनःस्थापनाको लागि पटकपटक अदालत आउनुपर्दा कर्तव्य त पूरा गरेको भए पनि उत्साहित हुनुपर्ने अवस्था नरहेको बताए। ‘यो दुर्भाग्यपूर्ण हो। पटकपटक एउटा अंहकारी कार्यकारी प्रमुखले गर्दा, संविधानको उल्लंघन गरेको कारणले गर्दा हामी पटकपटक न्यायालयको ढोकामा आउनुपरेको छ’, उनले भने।
प्रधानमन्त्री ओलीले कांग्रेस प्रचण्डपथमा हिँड्यो भनी दिएको अभिव्यक्तिको आलोचना गरे। ‘प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु टिप्पणीयोग्य पनि छैन। प्रधानमन्त्री बेसुरको हुनुभएको छ’, उनले भने।
शेरबहादुर देउवाले आफ्नो निवेदन दर्ता गरेको र सांसद्हरुमध्ये केहीले गरेको र केहीले गर्ने क्रम जारी रहेको थापाले बताए।
‘यो आजबाट निवेदन दिने प्रक्रिया सुरु भएको छ। अरु साथीहरुले आफ्नो हिसाबले दिने निवेदनहरु बाँकी छन्। अस्ति जति जनाले देउवालाई समर्थन गरेर गरेको हस्ताक्षरबाट पछि फर्किनुभएको छैन। रिट दिने वा नदिने भन्ने स्वेच्छाको कुरा हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।