काठमाडौं– अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै राष्ट्रपति जो बाइडेनले त्यसलाई रोक्न एउटा विधेयकमा हस्ताक्षर गरेका छन्।
अमेरिकामा घृणा र जातिभेद जस्ता गतिविधि बढ्नुका साथै कतिपय एसियाली मुलका अमेरिकीमाथि सार्वजनिक स्थलमै आक्रमण हुन थालेपछि चिन्ता व्यक्त गर्न थालिएको थियो ।
डेमोक्रेट र रिपब्लिकन पार्टीका कैयौं सांसदले एसियाली मुलका व्यक्तिमाथि भइरहेका आक्रमण रोक्न ल्याइएको विधेयकको समर्थन गरेका छन्। ह्वाइट हाउसमा बिहीबार भएको विधेयक प्रमाणीकरण समारोहमा ठूलो संख्यामा सांसदहरु पनि उपस्थित भएका थिए ।
गत अप्रिलमै माथिल्लो सदन सिनेटले पारित गरेको उक्त विधेयकलाई यसै साता अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ३६४–६२ मतान्तरले अनुमोदन गरेको थियो।
राष्ट्रपतिको चुनावी सभाहरुमा अमेरिकी जनतालाई एकताबद्ध गर्ने पटकपटक बताउँदै आएका राष्ट्रपति बाइडेनले विधेयक प्रमाणीकरण कार्यक्रममा पनि घृणा र जातिभेदलाई सबैले मिले परास्त गर्नुपर्नेमा जोड दिए।
नयाँ कानुनले न्याय विभागलाई कुनै पनि किसिमका घृणाजन्य अपराधका विषयमा समीक्षा गर्ने बाटो खुलेको छ।
अधिकारकर्मीले भने यस विषयलाई कानुन कार्यान्वयन गर्ने निकायको जिम्मेवारीमा छाड्न नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।