काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको मतदान सकिएको छ। बिहीबार दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदान सकिएसँगै आजै साँझबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा भएको मतदानमा ३३८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा १० मतदाता अनुपस्थित भए।
आयोगका अनुसार कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।
आज अपरान्ह ४.३० बजेदेखि मतगणना प्रारम्भ गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको र आज नै साँझसम्ममा मतपरिणाम आउने संभावना रहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान कार्य सफलतापूर्वक सम्पन्न भएकोमा मतदान कार्यमा खटिने निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायत राष्ट्रसेवक कर्मचारीहरु तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई आयोग धन्यवाद ज्ञापन गर्दछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।