काठमाडौं– उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,’ घिसिङले भने, ‘म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’
साथै, उनले पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको जिकिर गरे ।
‘एकतर्फी रुपमा सहमति भंग गरेको मलाई जानकारी गर्नुभयो । मिडियामा पनि त्यही हिसाबले आयो । वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो,’ घिसिङले भने, ‘उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोगेको छ । रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राख्नुभयो । उज्यालो नेपालका साथीहरूलाई पार्टी प्रवेशमा आह्वान गर्नुभयो । हामीले केही पनि गरेका थिएनौं ।’
उनले मुख्य मुद्दाका रूपमा समावेशी र संघीयतासँग सम्बन्धित संविधानले देखाएका विषयमा रास्वपा सुरुमा सहमत भए पनि पछि त्यसबाट पछि हटेको गुनासो गरे ।
उनले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको बताए ।
शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमानलाई अध्यक्ष नियुक्त गरेको नेता गणेश घिसिङले जानकारी दिए ।
रास्वपाको उपसभापति बनेर आगामी चुनावमा जाने तयारीमा थिए घिसिङ । तर रास्वपासँग सहमति भाँडिएपछि उनलाई उनेपाले अध्यक्ष बनाएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।