काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. यशोदा रिजाललाई निलम्बन गरेको छ ।
काउन्सिल स्रोतका अनुसार बिहीबार बसेको पूर्ण बैठकले रिजाललाई निलम्बन गरेको हो ।
‘जिल्ला अदालत नै उहाँलाई दोषी ठहर गरिसकेको रहेछ । ‘उक्त निर्णयको माइन्युटिङ भएको छैन। लामो छलफल गरेपछि निलम्बन गरेका हौं, काउन्सिलले अबदेखि ७२ घण्टापछि निर्णय सार्वजानिक गर्नेछ,’ काउन्सिल स्रोतले बतायो ।
तर कति समय निलम्बन भएको भन्ने विषय स्रोतले खुलाउन चाहेन।
प्रकरण के हो ?
यो प्रकरण जबर्जस्ती करणी मुद्दासँग जोडिएको छ। एक पीडित मिहला र दिवाकर रिजालबीच अंश मुद्दाको क्रममा चिनजान भएको थियो। त्यही सम्बन्धको लाभ लिँदै उनले जबर्जस्ती करणी गरेको सीताको आरोप थियो। उनले मुद्दा दायर गरिन् । तर करणी गरेको भनिएको समयमा दिवाकरले आफू नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै अदालतमा कागजात पेश गरेका थिए।
जाँचबुझका क्रममा उक्त कागजात डा. यसोदा रिजालले तयार पारेको पाइएको थियो। उच्च रक्तचापका कारण एक रात अस्पताल भर्ना गरिएको झुटो विवरण बनाइएको अदालतले ठहर गरेको छ। डा. यसोदा रिजाल खरानीटार अस्पतालको प्रमुख जिम्मेवारीमा थिइन् र दिवाकर उनका बुबा हुन्।
पीडित पक्षले ३० असोज २०७९ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले छानबिन गरी आवश्यक कारबाही गर्न नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको थियो। मन्त्रालयको पत्रमा एकै दिन एउटै व्यक्ति अदालत र अस्पताल दुवै ठाउँमा उपस्थित देखिनु, बिना बिल र डाक्टरको नाम नखुलाइ कागजात बनाइनु गम्भीर व्यावसायिक आचरण उल्लंघन भएको उल्लेख गरिएको छ।
उक्त मुद्दा अदालतमा विचाराधीन रहँदै डा. रिजालले नेपाल मेडिकल काउन्सिलबाट ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिई अमेरिका पुगेकी छिन्। दोषी ठहर हुने निश्चित भएपछि नै उनले देश छाडेको आरोप पीडित पक्षको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।