मुम्बई- देशमा काेराेना भाइरसविरुद्धकाे खाेप अभाव हुन थालेपछि केही भारतीय खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार काेराेनाविरुकाे रुसी खाेप ‘स्पुतनिक भी’ लगाउन पाइने भएपछि ट्राभल एजेन्सीले प्याकेज नै घोषणा गरेर भारतीयलाई रूस पुर्याउने गरेका हुन्।
दिल्लीस्थित एक ट्राभल एजेन्सीले १ लाख ३० हजार भारूमा २४ दिन रूस भ्रमणको प्याकेज ल्याएको छ। प्याकेजमा लिनेलाई एयरोफ्लोटको उडानमार्फत् रुस लगिन्छ। १ लाख ३० हजार भारू तिरेपछि हवाई टिकट, ब्रेकफास्ट, डिनर र घुमघामलगायतकाे शुल्क तिरिरहनुपर्दैन। यद्यपि, भिसाकाे लागि १० हजार छुट्टै तिर्नुपर्छ।
पहिलो र दोस्रो डोजबीच २१ दिनको अन्तर हुनु पर्ने भएकाले उनीहरूलाई २४ दिनको प्याकेज दिइएको हो। रूसी भ्याक्सिनको दुई डोज लगाउने र बाँकी दिनमा केही ठाउँको अवलोकन गर्ने पाइने छ।
एजेन्सीले उक्त प्याकेजअन्तर्गत मे १५ मा ३० जनाको टोली रूस गइसकेको जनाएको छ। अधिकांश डाक्टरहरू रहेको उक्त टोलीमा गएकाहरूले खोपको पहिलो डोज पनि लगाइसकेका छन्।
यसरी गएकाहरू तीन दिन सेन्टपिटर्सबर्गमा र बाँकी दिन मस्कोमा बस्नेछन्। अब अर्को टोली मे २९ मा रूस जाने ट्राभल एजेन्सीले जनाएको छ।
ट्राभल एजेन्सीका एक अधिकारीले भने,‘पहिलो डाेज मस्को आइपुगेको भोलिपल्ट दिइन्छ। रुसमा कम्तिमा सात दिनसम्म बसोबास गर्ने विदेशीहरूले खोप लिन सक्छन्। खोप लगाउनका लागि आफ्नो नाम दर्ता गर्नुपर्दछ, जुन हामी उनीहरूका लागि गर्छौं।’
अहिले भारतीयहरूलाई प्रवेश अनुमति दिने विश्वका केही मुलुकमध्ये रूस पनि एक हो। रूस जान पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ। रिपोर्ट नेगेटिभ भए रूस पुगेर पनि क्वारेन्टिनमा बस्नु पर्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।