काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउन अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्।
काठमाडौं–३० स्थित पार्टीको वडा कार्यालय पुगेका थापाले महाधिवेशन निर्धारित समयमै अघि बढाउने तयारी भए पनि पार्टीभित्रको एकता कायम राख्न आफू अधिकतम लचिलो बन्न तयार रहेको बताए।
उनका अनुसार देउवा पक्षसहित असन्तुष्ट नेताहरूलाई सहमतिमा ल्याउन आफूले यसअघि पनि निरन्तर संवाद गर्दै आएका छन्। उनले २९ गतेको भेलाको आसपास पूर्णबहादुर खड्का, शेखर कोइराला र शशांक कोइरालासँग समेत छलफल गरेको बताए।
‘मैले प्रयास गर्न आवश्यक नठानेको भए धेरै पहिला अधिवेशन सम्पन्न गरिसक्थेँ। मेरो लागि अनुकूल थियो। तर मैले निरन्तर प्रयास गरेँ,’ उनले भने, ‘सम्पूर्ण शक्ति लगाएर पार्टीभित्र सहमति निर्माणको प्रयास गरेको छु।’
अदालतमा विचाराधीन विषयलाई लिएर इतर पक्षको धारणा परिवर्तन भएपछि राजनीतिक रूपमा समाधान खोज्नुपर्ने अवस्था आएको उनको भनाइ छ। अदालतबाट मात्रै राजनीतिक विवादको समाधान हुन नसक्ने थापाले बताए।
उनले असोज १६ गतेको महाधिवेशनको मिति पर सार्ने विषयमा समेत आफू छलफल गर्न तयार रहेको संकेत गरे। तर त्यसका लागि अदालतसँग सम्बन्धित प्रक्रिया फिर्ता लिनुपर्ने उनको भनाइ थियो।
‘उहाँहरूले अदालतको विषयबाट हामी फिर्ता लियौँ, अब एउटा राजनीतिक समझदारी निर्माण गरौँ भन्नुभएको भए अधिवेशनको मिति सार्ने विषयमा छलफल गर्थेँ,’ थापाले भने, ‘मंसिरसम्म पार्टीको विधानले ठाउँ दिएको छ। तर उहाँहरूले त्यो विषय फिर्ता नलिएपछि असोज १६ भन्दा उता लैजान सकिँदैन।’
थापाले वडा अधिवेशनमा सहभागी हुन नसकेका नेता–कार्यकर्तालाई समेत सहमतिमा आए महाधिवेशन प्रक्रियामा समेट्ने ठाउँ राखिएको बताए।
‘बाधा अड्काउ फुकाइएको छ। अरू थप निर्णय गर्ने ठाउँहरू राखिएका छन्,’ उनले भने, ‘१६ गते बिहानसम्म पनि म भगीरथ प्रयास गरिराख्छु।’
यससँगै कांग्रेसको महाधिवेशन प्रक्रिया निर्धारित मितिमा अघि बढाउने र असन्तुष्ट पक्षलाई अन्तिम समयसम्म सहमतिमा ल्याउने प्रयास एकसाथ अघि बढेको देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।