काठमाडाैं- इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले गरेको हवाई हमलामा एक प्यालेस्टिनी पत्रकारको मृत्यु भएको छ। अलजजिराका अनुसार स्थानिय रेडियो स्टेशन भ्वाईस अफ अल–अक्सामा कार्यरत पत्रकार युसुफ अबु हुसेनको मृत्यु भएको हो।
बुधबार बिहानै गरिएको हमलामा गाजापट्टीमा रहेको घरमै बसिरहेका हुसेनको मृत्यु भएको उनको परिवारले जनाएको छ। उनीसँगै अन्य चार प्यालेस्टिनीको पनि मृत्यु भएको समाचारमा उल्लेख छ।
युसुफका बुबा मुहम्मद अबु हुसेनका अनुसार बिहानै छिमेकीको घरलाई लक्षित गरेर एक रकेट प्रहार गरिएको थियो। त्यसपछि अन्य दुई रकेट प्रहार गरिएको थियो।
‘हामी घरबाट बाहिर निस्कन सफल भयौं। तर, मेरो छोरा युसुफ मारिए,’ उनले भने। भ्वाईस अफ अल–अक्सा रेडियो स्टेशनले युसुफको हत्याको जवाफदेही इजरायली सरकारलाई हुनुपर्ने बताएको छ।
‘हामी विश्वको अगाडि इजरायली शत्रुले सर्वसाधारणको घरलाई लक्षित गरेर गरेको आक्रमण र प्रेस र सञ्चारकर्मीमाथि गरिएको यो जघन्य अपराधको रेकर्ड राख्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भ्वाईस अफ अल–अक्सा रेडियो इजरायली अपराधको पर्दाफास गर्ने र सत्यको आवाज हुनेछ।’
यस्तै प्यालेस्टिनी प्रतिरोध र प्यालेस्टाइनको अधिकारको लागि मञ्च रेडियोले जनाएको छ। ‘हामी प्यालेस्टिनी प्रतिरोध र प्यालेस्टाइनको अधिकारको लागि मञ्च रहनेछौं। जबसम्म हाम्रो जनताले उनीहरूको स्वतन्त्रताको हक प्राप्त गर्दैनन् र सम्मानपूर्वक जिउन पाउँदैनन्,’ विज्ञप्तिमा भनिएको छ।
केहीदिनयता इजरायलले गाजामा ‘एयर स्ट्राइक’ गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्। इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडिया रहेका भवनहरु निशानामा परेका छन्।
यसैक्रममा अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र कतारी मिडिया हाउस अलजजिरालगायतका धेरै समाचार समूहहरूको कार्यालयलाई लक्षित गरेर हवाई आक्रमण गरिएको छ।
इजरायली सेनाले हमासले मिडियालाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमासबीच जारी संघर्ष १० दिनयता जारी छ। गएको हप्ताको सोमबार (मे १०)देखि सुरु भएको हिंसात्मक गतिविधिमा अहिलेसम्म २२२ जनाको मृत्यु भइसकेको छ।
गाजामा ६३ बालबालिकासहित कम्तीमा २२२ जनाको ज्यान गएको हो। यस्तै इजरायलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ। त्यस्तै, गाजाको रकेट आक्रमणबाट ३०० बढी इजरायलीहरु घाइते छन्।
इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ। तर, गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।