जेरुसलेम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले १० दिनसम्म भएकाे हमलाले हमासको क्षमता वषौं पछाडि धकेलिएको दाबी गरेका छन्।
इजरायलको आक्रमणबाट हमास कमजोर बनेको र उसको क्षमता कयौं वर्ष पछाडि धकेलिएकाे उनले बताएका हुन्।
‘गाजा चलाउने प्यालेस्टाइन आतंकवादी समूह हमासलाई अप्रत्याशित प्रहार सामना गर्नुपरेकाे थियाे। यसले हमास कमजोर बनेको र उसको क्षमता कयौं वर्ष पछाडि धकेलिए छ,’ उनले भने।
यद्यपि, उनले जबसम्म इजरायली नागरिक सुरक्षित हुँदैनन् तबसम्म आक्रमण जारी राख्ने बताएका छन्। ‘सबै इजरायली जबसम्म सुरक्षित हुँदैनन् तबसम्म याे अभियान जारी रहन्छ। हामी आफूविरुद्धको आक्रमणको मूल्य असुल्छौं,’ उनले भने।
इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमासबीच जारी संघर्ष १० दिनयता जारी छ। गएको हप्ताको सोमबार (मे १०) देखि सुरु भएकाे हिंसात्मक गतिविधिमा अहिलेसम्म २२२ जनाको मृत्यु भइसकेको छ।
गाजामा ६३ बालबालिकासहित कम्तीमा २२२ जनाको ज्यान गएको हाे। यस्तै इजरायलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ। त्यस्तै, गाजाको रकेट आक्रमणबाट ३०० बढी इजरायलीहरु घाइते छन्।
इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको र सर्वसाधारण बिना नियत मारिएको बताएको छ। तर, गाजामा नियन्त्रण कायम गरेको हमासले भने मारिने सबै सर्वसाधारण रहेको बताउँछ।
इजरायलले हालै गाजास्थित हमासको सेना प्रमुख मोहम्मद देइफलाई मार्न ७० पटकभन्दा बढी हवाई आक्रमण गरेको छ।
यस आक्रमणबाट दुई हमासका लडाकुको मृत्यु भएको छ। जवाफमा हमासले दक्षिण इजरायली क्षेत्रको एउटा एयरबेसमा आक्रमण गरेको जानकारी दिएको छ।
दुवै पक्षबीच युद्धविराम गराउने प्रयास भइरहेका छन्। फ्रान्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा इजिप्ट र जोर्डनसँग मिलेर हिंसा रोक्न प्रस्ताव गरेका छन्। अमेरिकाले युद्धविरामको प्रयासमा बाधा पुर्याइरहेको छ। अमेरिकाले युद्ध हुन नहुने धारणा राख्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।