काठमाडौं– पूर्वीमध्य अरब सागरबाट विकास भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’को असर नेपालमा समेत देखिने भन्दै पर्यटन विभागले पर्यटक तथा पर्यटन व्यवसायीहरुलाई सुरक्षित रहन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार नेपालमा बुधबारदेखि शुक्रबारसम्म शक्तिशाली चक्रवात (ताउ–ते)को असर देखिने भएकाले आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्न विभागले पर्यटन व्यवसायीलाई सजग गराएको छ।
पर्यटन विभागले मंगलबार एक सूचना जारी गर्दै उच्च हिमाली भू–भभागमा मध्यम हिमपातदेखि भारी हिमपातका साथै उच्च बेगको हावाहुरी आउने पूर्वानुमान गरिएको जनाएको छ।
विभागले नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहेका तथा पर्वतारोहका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा पुगेका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित राख्न भनेको छ।
‘पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नु÷गरानु भइ नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ,’ विभागले मंगलबार एक सूचना जारी गर्दै भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।