काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकारमा रहँदा आफूले गरेको सुधारका काम सार्वजनिक गरेका छन्।
मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा अधिकारीले १४ बुँदे सुधारका कामबारे जानकारी गराउँदै यसअघि सार्वजनिक गरिएका कार्ययोजना ९५ प्रतिशत पूरा भएको बताए।
मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १७ घन्टादेखि बढाएर दैनिक २१ घन्टा पुर्याउनुलाई मुख्य उपलब्धि मानेको छ। २१ घन्टा सञ्चालनले विमानस्थलको चापमा उल्लेख्य सुधार आएको अधिकारीले बताए।
नेपाल वायु सेवा निगमसँग रहेका आन्तरिक उडानलाई अधिकतम उडान गर्न दुई ट्विनअटर, एक एमए ६० र तीन वाई ट्युवेल ई सञ्चालनमा ल्याइएको जनाइएको छ। व्यापरिक प्रयोजनका लागि नयाँ ६ वटा ट्विनअटर विमान खरिद प्रक्रिया रहेको मन्त्रालयले जनाएको छ।
आन्तरिक विमानस्थलको लागि काभ्रेको नागीडाँडा उपयुक्त स्थान ठहर गरिएको प्रतिवेदन प्राप्त भएको मन्त्रलायले जनाएको छ। निजगढ विमानस्थलको उच्चस्तरीय सहजीकरण समिति गठन गरिएकोलाई मन्त्रालयले सय दिने उपलब्धिका रुपमा लिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल निर्माण कार्य ३८ प्रतिशत सकिएको बताइएको छ। कार्यभार सम्हालेसँगै गरिएको सयदिने प्रतिबद्धतामा ४० प्रतिशत काम सक्ने लक्ष्य राखिएको थियो। पोखरा विमानस्थल आयोजनाको लागि सुपरिभजन कन्सल्ट्यान्ट र नियुक्त भई कार्य प्रारम्भ भई काम अघि बढेको मन्त्रालयले जनाएको छ।
पशुपति क्षेत्रमा भिखारीलाई हटाउने कार्यलाई पनि उपलब्धिका रुपमा उल्लेख गरिएको छ। ग्रेटर लुम्बिनीको अवधारणा अघि सारेर बृहत् रुपमा लुम्बिनी क्षेत्रको विकासमा लागिएको अधिकारीले जानकारी गराए।
भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरु रानीपोखरी, काष्ठमण्डप र धरहराको पुनर्निर्माण कार्य आफ्नै पहलमा अघि बढेको उनले बताए। उपत्यकामा भूकम्पले क्षति पुर्याएका मन्दिरहरुको पुनर्निर्माण अन्तिम चरणमा पुगेको मन्त्रलायले उपलब्धिमा उल्लेख गरेको छ।
सातै प्रदेशमा एकएक नमुना पर्यटकीय गन्तव्य स्थान बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन तयार भएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा अधिकारीले अन्तर प्रादेशिक हवाई उडानलाई प्राथमिकता दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।