भैरहवा- अपहरण गरी हत्या गरिदिने धम्की दिँदै मोटो रकम माग्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ का २५ वर्षीय प्रकाश सुनार, सोही नगरपालिका १५ का १९ वर्षीय विवेक गौतम र सियारी गाउँपालिका १ का १९ वर्षीय अर्जुन सुनार रहेका छन्।
पक्राउ परेका अभियुक्तहरुले तिलोत्तमा नगरपालिका १५ का ४५ वर्षीय डोलेन्द्र सापकोटालाई पटकपटक फोन तथा मोबाइलमार्फत म्यासेज पठाई ५ लाख रुपैयाँ माग्दै नदिए श्रीमती तथा छोराको अपहरण गरी हत्या गरिदिने धम्की दिँदै आएका थिए। पीडितले उजुरी दिएपछि अभियुक्तहरुलाई फिरौती बुझ्न आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए।
नाटकीय शैलीमा पक्राउ
पीडित सापकोटाले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले योजना बनायो। सापकोटा पनि नाटकीय रुपमा फिरौती दिन मानसिक रुपमा तयार भए। अभियुक्तहरुले रकम बुझ्नका लागि उनलाई सियारी गाउँपालिकास्थिति चिल्हिया जंगलमा बोलाए।
सादा पोसाकमा प्रहरी खटिएको सुइँको पाएपछि अभियुक्तहरुले सापकोटालाई बडीगार्ड लिएर आएको भन्दै लोकेसन परिवर्तन गरे। आफ्नो पहिचानको लागि लु ४० प ३७४० प्रयोग गरेको स्कुटी नम्बरसहित उनीहरुले ओमसतिया गाउँपालिका २ को पडसरीमा आउन भने। सापकोटाले भने तत्कालै उक्त स्कुटी नम्बर प्रहरीलाई उपलब्ध गराए।
सोही नम्बर पछ्याउँदै गएक प्रहरीले स्कुटीमा बसेका विकेक र पछाडिबाट आइरहेका अर्जुनलाई पक्राउ गर्न सफल भयो। ओमसतिया गाउँपालिकाको पडसरीबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी पाण्डेले बताए।
दुई जनालाई केरकार गर्दा उनीहरुले प्रकाशको योजनामा आफूहरुले काम गरेको बताएपछि प्रकाशलाई घरबाटै पक्राउ गरिएको थियो।
घटनाको मुख्य योजनाकार प्रकाश सुनार नै रहेको प्रराम्भिक अनुसन्धानमा खुलेको छ। पीडितलाई धम्क्याउन प्रयोग गरिएको सिम प्रकाशले नै उपलब्ध गराएका थिए।
पीडित सापकोटा गिटीबालुवा व्यवसायी हुन्। पक्राउ परेका अर्जुनले आफ्नो ट्याक्टर मार्फत सापकोटको गिट्टीबालुवा ढुवानी गर्दै आएका थिए। तर, उनीहरुबीच व्यावसायिक समस्या या अन्य कारणले योजना बनाइएको भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए।
पक्राउ परेका तीनै जनाउपर जिल्ला अदालत रुपन्देहीमा अपहरण तथा शारीरिक बन्धक उद्योग मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।