तस्बिर: अलजजिरा
गाजा सिटी- इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा सहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण सुरु भएको हो।
करिब १० मिनेटको अन्तरालमा गाजा सहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए। अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन्। हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो।
इजरायली सेनाले गाजास्थित नौ जना हमास कमान्डरका घरलाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ। सोमबार बिहानै भएका पछिल्लो आक्रमणबाट कोही घाइते भए वा नभएको बारेमा स्पष्ट भइसकेको छैन।
आइतबार टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायलले पूर्ण क्षमताका साथ हमास लडाकूविरुद्ध आक्रमण जारी राखेको बताउँदै यस आक्रमणमा अझै केही समय लाग्ने बताएका थिए। उनले हमासका विद्रोही समूहले ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए।
हमासका विद्रोहीले पनि इजरायलमाथि दबाब कायमै राखेको छ। गाजा सहरका बस्तीहरुबाट हमासका लडाकूले इजरायलमाथि दिनहुँ क्षेप्यास्त्र आक्रमण गरिरहेका छन्।
यसअघि सन् २०१४ मा हमास र इजरायलबीच भिषण युद्ध भएको थियो। तर यसपटकको विनाश सन् २०१४ को भन्दा विनाशकारी रहेको दुवै युद्ध देखेका गाजामा आपतकालीन सेवामा सक्रिय समिर अल-खातिबले बताए।
हमासले यसअघि गत सोमबार जेरुसेलममाथि क्षेप्यास्त्र प्रहार गर्न सुरु गरेको थियो जसका कारण इजरायलले गाजामाथि भिषण कारबाही थालेको हो।
गाजामा भएका सयौं हवाई आक्रमणबाट हालसम्म कम्तीमा १८८ जना प्यालेस्टिनीको ज्यान गइसकेको छ जसमा ५५ जना बालबालिका र ३३ जना महिला छन्। आक्रमणबाट एक हजार २३० जना घाइते भएका छन्। गाजाबाट इजरायलतर्फ प्रहार गरिएका तीन हजारभन्दा बढी क्षेप्यास्त्रबाट हालसम्म आठ जनाको मृत्यु भएको छ।
हमास र इस्लामिक जिहाद विद्रोही समूहले आफ्नातर्फ २० जना लडाकू मारिएको स्वीकार गरेका छन् तर इजरायली सेनाले यो भन्दा अझ ठूलो संख्यामा लडाकू मारिएको जनाएको छ।
पछिल्ला आक्रमणबाट जोगिन झण्डै ३४ हजार प्यालेस्टिनीले आफ्ना घर छाडेका राष्ट्रसंघीय कूटनीतिज्ञ टोर वेनेसल्यान्डले राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी गराएका छन्।
इजरायलमाथि दबाब दिने उद्देश्यले राष्ट्रसंघ सुरक्षा परिषद्बाट वक्तव्य जारी गर्ने चीन, नर्वे र ट्युनिसियाको प्रयासलाई संयुक्त राज्य अमेरिकाले रोकिदिएको छ। तर अमेरिकाले इजरायली आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सावधानी अपनाउन आग्रह गरेको छ, तर सँगै इजरायलले आफ्नो सम्प्रभू र आत्मरक्षा गर्न पाउने अधिकार रहेको जनाएको छ।
प्यालेस्टिनी विदेशमन्त्री रियाद अल-मलिकीले सुरक्षा परिषद्समक्ष इजरायली आक्रमण रोक्नेतर्फ तत्काल पहल गरिदिन आग्रह गरेका छन्। तर राष्ट्रसंघका लागि इजरायली राजदूत जिलाड एर्डानले राष्ट्रसंघसमक्ष इजरायलविरुद्ध आक्रमण रोक्न हमासलाई दबाब दिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।