काठमाडाैं- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भारतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट)ले गम्भीर रुप लिन सक्ने बताएका छन्।
भारतीय भेरियन्टको कारण बेलायतको लकडाउन खुकुलो बनाउने योजनामा अवरोध उत्पन्न हुनसक्ने समेत उनले बताए। बेलायत कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन चरणबद्धरुपमा खुकुलो पारिरहेको छ।
यस्तोमा सोमबारदेखि तेस्रो चरणमा लकडाउन खुकुलो हुनेछ। बेलायतमा आगामी जुनबाट सबै प्रतिबन्ध हटाउने तयारी गरिएको छ। तर, भारतीय भेरियन्टको कारण चौथो चरणमा लकडाउन खुकुलो पार्न भने कठिन हुने उनकाे भनाइ छ।
विशेषज्ञहरुका अनुसार भारतीय भेरियन्ट ५० प्रतिशत संक्रामक रहेको उनले बताए। जसको कारण अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न सक्ने आशंका गरिएकाे छ। आगामी दिनमा यो भेरियन्ट बेलायतमा फैलिने प्रमुख भेरियन्ट बन्न सक्ने उनले बताए।
उनले कोरोना खोप प्रभावकारी रहेको भन्दै खोप अभियानलाई तीव्रता दिन आग्रह गरेका छन्।
बेलायतको विपक्षी लेबर पार्टी बेलायतले लामो समयसम्म भारतको सीमा खुला राखेको कारण कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ।
बेलायतले गत अप्रिल २३ मा भारतलाई रेड ट्राभल सूचीमा हालेको थियो। जसको कारण बेलायती नागरिकबाहेक अन्य मुलुकका मानिसहरु भारतबाट बेलायत जान पाउँदैनन्।
बेलायती नागरिकले पनि बेलायतमा १० दिन क्वारेन्टिनमा बस्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।