काठमाडाैं- इजरायलले गाजास्थित हमासका महत्वपूर्ण मानिएका नेता याह्या अल–सिनवारको घरमा रकेट आक्रमण गरेको छ।
आइतबार युद्धक विमानबाट आक्रमण गरिएको समाचार संस्था रोयटर्सले जनाएकाे छ। यस आक्रमणमा कति मानिस मारिए भनेर हालसम्म दुवै पक्षले खुलाएका छैनन्।
यद्यपि, समाचार संस्था रोयटर्सले त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै सो आक्रमणमा ८ बालबालिकासहित ३३ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
इजरायलले आइतबार गाजाको दुई भवनमा आक्रमण गरेको थियाे। सो आक्रमणपछि प्यालेस्टाइनका इजराय विरोधी समूह हमासले इजरायलतर्फ रकेटहरु आक्रमण गरेका थिए।
हवाई हमलामा भत्केका भवनबाट फोहोर फाल्ने काम गर्ने प्यालेस्टिनी एक महिला र पुरुषको शव बरामद भएकाे छ।
गतहप्ताको सोमबारदेखि सुरुवात भएको इजरायल–हमास द्वन्द्वमा हालसम्म प्यालेस्टाइनतर्फ १५० भन्दा बढीको ज्यान गएको छ। मारिएकामध्ये ४१ बालबालिका भएको बताइएको छ।
इजरायलतर्फ भने १० जनाको मृत्यु भएको जनाइएको छ।
'यो डरलाग्दो क्षण हो। जुन कसैले वर्णन गर्न सकिँदैन। भूकम्पले झैं त्यस इलाकामा आक्रमण गरिएकाे छ,' उद्धार कार्यमा संलग्न माेहम्मद हमिदले भने।
हालै इजरायलका प्रधानमन्त्री बेन्जामित नेतन्याहुले जबसम्म इजरायलका नागरिकको सुरक्षा सुनिश्चित हुँदैन तबसम्म हमासविरुद्ध आक्रमण गरिरहेको बताएका थिए।
इजरायली सेनाहरुका अनुसार हमास र अन्य सशस्त्र समूहले छ दिनमा एन्क्लेभबाट २८ सयभन्दा बढी रकेट प्रहार गरेका छन्।
अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व अन्त्यको अपिल गरेका छन्। आइतबार संयुक्त राष्ट्रसंघमा यसै द्वन्द्वको विषयमा छलफल हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।