काठमाडौं- नेपाली कांग्रेसले आसन्न महाधिवेशनका लागि निर्धारण गरेको समयमा ३२ जिल्लाबाट क्रियाशील सदस्यता ‘इन्ट्री’ हुन सकेको छैन। वैशाख मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणका लागि छुट्याइएको समयावधिमा ४५ जिल्लाबाट मात्रै सदस्यको नामावली सूचीकृत भएको छ। हालसम्म सात लाख ५५ हजार क्रियाशील सदस्यको नामावली सूचीकृत गरिएको कांग्रेसले जनाएको छ।
क्रियाशील सदस्य टुंग्याउन बाँकी रहेका सबैभन्दा धेरै स्थान प्रदेश २ का छन्। प्रदेश २ का आठवटै जिल्लाले क्रियाशील सदस्यता टुंग्याएर नामावली पठाउन सकेका छैनन्।
क्रियाशील र नवीकरण गरी ४५ जिल्लाका ८० स्थानबाट सदस्यको नामावली केन्द्रमा आएको नेपाली कांग्रेसले जानकारी दिएको छ। ४५ जिल्लामा पनि कतिपयले नयाँ क्रियाशील सदस्यको नाम सूचीकृत गर्न सकेका छैनन्।
क्रियाशील सदस्यताको नवीकरण अधिकार जिल्ला कार्यसमितिको छ भने नयाँ सदस्य वितरण क्षेत्रीय कार्यसमितिले गर्नुपर्दछ। २०५ स्थानबाट केन्द्रमा नाम सूचीकृत गर्नुपर्छ। यसपटकदेखि सञ्चालनमा ल्याइएको प्रविधिमार्फत् नामहरू सूचीकृत गर्न केन्द्रले निर्देशन जारी गरेको छ। नवनिर्मित सफ्टवेयरमा क्षेत्रीय कार्यसमितिले नयाँ सदस्य र जिल्ला कार्यसमितिले नवीकरण गरेका सदस्यहरूको नामावली ‘इन्ट्री’ गर्ने व्यवस्था गरिएको छ।
हाल क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले ‘लग इन’ गरी नयाँ थप्ने कार्य रोकिएको छ।
पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रअनुसारको प्रक्रियाअनुसार विवादरहित तरिकाले क्रियाशील सदस्यता टुंग्याएर ८० स्थानबाट नामावली इन्ट्री भएको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालले जानकारी दिए। हालसम्म इन्ट्री भएका नाम पार्टीको वेबसाइटमासमेत राखिएको छ।
डेढ लाखभन्दा बढी सदस्य अझै समेट्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। हाल क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिले ‘लग इन’ गरी नयाँ थप्ने कार्य रोकिएको छ। केन्द्रीय समितिले उपलब्ध गराएको समयसीमा नाघेकाले नयाँ इन्ट्री रोकिएको हो। केन्द्रीय समितिको नयाँ निर्णय नआउँदासम्म थप नाम इन्ट्री हुन नसक्ने पौडेलले जानकारी दिए। केन्द्रीय समिति बैठकको टुंगो भने लाग्न सकेको छैन।
सार्वजनिक गरिएका नाममा गुनासो भए लिखित उजुरी दिन जेठ ७ सम्मको समयावधि दिइएको छ। प्राप्त उजुरीमाथि छानविन गरी अन्तिम नामावली सार्वजनिक गरिने क्रियाशील सदस्यता छानविन समितिले जानकारी दिएको छ।
१३औं महाधिवेशनको भन्दा झण्डै पाँच लाख बढी नयाँ क्रियाशील सदस्यता थप्ने कांग्रेसले निर्णय गरेको छ। त्यसअनुसार १४औं महाधिवेशनमा पाँच लाख नयाँ क्रियाशील सदस्यता बनाउने पार्टी नीति छ। केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानविन समितिका सदस्य पौडेलले नौ लाखभन्दा बढी क्रियाशील सदस्य १४औं महाधिवेशनमा हुने जानकारी दिए।
क्रियाशील सदस्यता टुंगिएपछि प्राप्त उजुरीको छानविन गरेपछि तल्लो तहको अधिवेशन सुरू हुनेछ। कोरोना र पार्टीभित्रको विवादले गर्दा महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ। केन्द्रीय समितिको निर्णयअनुसार असार ६ देखि तल्लो तहका अधिवेशन सुरू गर्ने कार्यतालिका बनाइएको थियो। तर, उक्त कार्यतालिका प्रभावित हुने देखिएको छ। १४औं महाधिवेशन भदौ ७ देखि १० सम्मको लागि तोकिएको छ।
नवीकरण र नयाँ सदस्यता टुंगिएका स्थान:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।