काठमाडाैं- चिनियाँ कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले विकास गरेको कोरोनाविरुद्धको खोप क्लिनिकल परीक्षणको तुलनामा निकै प्रभावकारी देखिएको छ। चिनियाँ खोप क्लिनिकल परीक्षणको क्रममा पश्चिमा मुलुकको कोरोना खोपभन्दा निकै कम प्रभावकारी देखिएको थियो।
इन्डोनेशियाको राजधानी शहर जकार्तामा गत जनवरीदेखि मार्चसम्मको अवधिमा एक लाख २८ हजारभन्दा धेरै चिनियाँ खोप लगाएका मानिसमा नियमित अध्ययन गरिएको थियो।
इन्डोनेशियाको स्वास्थ्य मन्त्रालयका अधिकारी पन्ड्जी देवान्त्राका अनुसार सो अध्ययनका क्रममा सिनोभ्याक खोपको दोस्रो डोज लगाएको ७ दिनपछि खोपले ९८ प्रतिशतलाई कोरोना संक्रमण र ९६ प्रतिशतलाई अस्पतालमा भर्ना हुनबाट बचाउने गरेको पाइएको थियो।
देवान्त्राका अनुसार ९४ प्रतिशत कर्मचारी लक्षणसहितको संक्रमणबाट बचेका थिए। यो नतिजा सो खोपको क्लिनिकल परीक्षणमा पाइएको भन्दा निकै राम्रो हो। यसअघि इन्डोनेशियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सडिकिनले २५ हजार ३७४ मानिसको सानो समूहमा गरिएको अध्ययनमा पनि उक्त खोपको प्रभावकारिता सोही अनुसार रहेको पाइएको बताएका थिए।
'हामीले अस्पताल भर्ना हुने र मृत्यु हुने स्वास्थ्यकर्मीको संख्यामा धेरै कमी आएको देखेका छौं', सडिकिनले बताए।
अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टमा यो खोपको प्रभावकारिता कस्तो रहन्छ भन्ने थाहा हुनसकेको छैन। यद्यपि इन्डोनेशियामा अहिलेसम्म कोरोना भेरियन्टको संक्रमण भने फैलिएको छैन।
इन्डोनेशियामा गरिएको यो अध्ययनमा कोरोना खोप लगाएका र नलगाएका मानिसबीच तुलना गरेर प्रभावकारिता निकालिएको थियो। यो अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष थियो।
सिनोभ्याकका सीईओ यिन वेइडोङका अनुसार ठाउँ अनुसार खोपको प्रभावकारिता पनि फरक हुन्छ। यद्यपि, चिनियाँ खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको उनको भनाइ छ।
इन्डोनेशिया चिनियाँ खोप सबैभन्दा पहिला प्रयोग गर्ने मुलुकमध्येको एक हो। गत जनवरी महीनामा इन्डोनेशियाका राष्ट्रपति जोको विडोडो सिनोभ्याकको खोप लगाउने राष्ट्रप्रमुख थिए।
इन्डोनेशियाले अहिलेसम्म मुलुकमा दुई करोड २० लाखभन्दा धेरै डोज कोरोना खोप आफ्ना नागरिकलाई लगाएको छ। जसमध्ये अधिकांश सिनोभ्याकको खोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।