रंगुन- म्यानमारमा पक्राउ परेका एक जापानी पत्रकार रिहा भएका छन्। जापान टाइम्सका अनुसार ४५ वर्षीय युकी किटाजुमीलाई बर्मली सेनाले शुक्रबार रिहा गरेकाे हाे।
म्यानमारको सेनाले किटाजुमीविरुद्ध सेनाविराेधी आन्दाेलनमा सहभागी भएकाे, समाचारकाे माध्यमबाट हिंसा फैलाउन मद्दत गरेकाे र भिसा नियमहरु पालना नगरेको अभियोगमा मुद्दा चलाइएको थियो।
गत फेब्रुअरीमा सेनाले कू गरेपछि म्यानमारमा मुद्दा चल्ने किटाजुमी पहिलो विदेशी पत्रकार हुन्। तर, जापानले अनुरोध गरेकाले उनलाई रिहा गरिएकाे जनाइएकाे छ।
गत अप्रिल १८ मा म्यानमारको प्रहरीले उनलाई घरमा नै छापा मारेर नियन्त्रणमा लिएको थियो। मिथ्या समाचार फैलाएको आरोप सत्य साबित भए उनलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्थ्यो। जापानले निरन्तर उनको रिहाइको माग गर्दै आएको छ।
रिहा भएलगत्तै उनी म्यानमारकाे शहर रंगुनबाट जापान प्रस्थान गरेकाे दूतावासले जनाएकाे छ।
जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीका अनुसार किटाजुमीलाई जापानी दूतावासका कर्मचारीले रंगुन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटेका थिए। कर्मचारीहरुका अनुसार उनकाे स्वास्थ्य अवस्था राम्राे रहेकाे छ।
सेनाले शक्ति आफ्नो हातमा लिएर म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ।
एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार यो अवधिमा म्यानमारमा ८० स्थानीय पत्रकार पक्राउ परेका छन्। जसमध्ये ५० जना अझै पनि हिरासतमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।