दिल्ली- भारतीय जनता पार्टी (भाजपा)ले पश्चिम बंगालका आफ्ना सबै विधायकहरूलाई केन्द्रीय सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ।
भाजपाले जम्मा ७७ सीट ल्याएको थियो। भाजपाको दुई नेताले विधानसभाको साटो संसद्को सदस्यतालाई प्राथमिकता दिएका छन्। फलस्वरूप सदस्यहरूको संख्या घटेर ७५ पुगेको छ।
निर्वाचन परिणाम घोषणा गरिएपछि राज्यका विभिन्न भागमा भएका हिंसामा विभिन्न राजनीतिक दलका १८ जना समर्थकको मृत्यु भएको छ।
निर्वाचनमा पराजित उम्मेदवारको सुरक्षाकाे लागि भन्दै मे ३१ सम्म सुरक्षा बढाउने निर्णय लिइएको छ। बंगालको राजनीतिमा पहिलोपटक यसरी सबै विपक्षी विधायकलाई सुरक्षा दिइएको हो।
विपक्षी दलका नेता शुभेन्दु अधिकारी र मुकुल रायसमेत १६ नेताहरूलाई जेड क्याटेगोरीको सुरक्षा दिइएको छ। अन्य विधायकलाई एक्स वा वाई क्याटेगोरीको सुरक्षा उपलब्ध गराइनेछ।
तर, भाजपाकै नेताहरूको एक समूहले यस निर्णयका कारण मानिसहरूमा गलत सन्देश जाने खतरा रहेको बताएका छन्।
यता, राज्यको सत्तारूढ दल तृणमूल कांग्रेसले केन्द्र सरकारको फैसलालाई आलोचना गर्दै कानून र व्यवस्था मिलाउने काम राज्य सरकारको भएको बताएको छ।
तृणमूलका अनुसार विधायकहरूले सुरक्षा पाउँछन् तर, पार्टीका आम कार्यकर्ताले पाउँदैनन्। यसबाट पार्टी कार्यकर्ताको नेताप्रतिको मोहभंग हुनसक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।