भारत– भारतको बिहार र यूपीमा गंगा नदीमा बगाइएका शवपछि अब गंगा किनाराको बगरमा ठूलो संख्यामा पुरिएको अवस्थामा शवहरु भेटिएका छन्।
कानपुर, उन्नाव र फतेहपुरमा सयौंको संख्यामा यस्तो शव फेला परेपछि स्थानीय स्तरमा चर्चा चलेको छ। प्रशासनले केहीले आफ्नो परम्परा अनुसार शव गाडेको बताइएको छ तर स्थानीयहरुले भने श्मशान घाटमा शवको धेरै संख्या र महँगीका कारण अन्तिम संस्कारको सट्टा मानिसहले बालुवामा शव पुरेर गइरहेका छन्।
बुधबार उन्नवस्थित गंगा नदीको किनारा केही घाटमा ठूलो संख्या कौवा र चील आकाशमा घुमेपछि मानिसहरु नदी किनारा पुगेका थिए। त्यहाँ पुगेर हेर्दा भयानक तस्वीर देखिएको थियो।
गंगा नदीको किनारामा कयौं शव बालुवामा पुरिएका थिए। त्यसमध्ये केही शव बाहिर देखिएका थिए र कुकुरले त्यसलाई लुछेर खाइरहेको देखिएको बीबीसीमा उल्लेख गरिएको छ।
केही शव निकै क्षत विक्षत अवस्थामा फेला परेका थिए किनकी बालुवामा शव धेरै पुरिएको थिएन। उन्नावको शुक्लागञ्जस्थित गंगा किनाराको कयौं घाट छन् जहाँ बालुवामा बनाइएको यस्तो कब्रस्थान बुधबार देखिएको थियो।
तस्वीर भाइरल भएपछि पत्ता लाग्यो कि पछिल्लो केही दिनदेखि गाउँमा मृत्यु भइरहेका व्यक्तिका परिवारजनले शवलाई त्यहाँ गाडेर गएका थिए।

शुक्लागञ्जमा बस्ने दिनकर साहूका अनुसार कयौं दिनदेखि यस्तो श्रृंखला चलिरहेको छ तर मानिसहरुलाई थाहा थिएन।
घाटमा शव जलाउन बस्नु पर्ने लाइन र आर्थिक अभावका कारण बाध्य भएर मानिसहरुले शवलाई गाड्न थालेको उनी बताउँछन्।
तर उन्नावका जिल्ला अधिकारी रविन्द्र कुमार भन्छन्,‘छेउछाउको गाउँमा यस्तो परम्परा छ कि हामी यसबारे जाँच गररहेका छौं।’ यसरी गाडिएका शवहरु कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको हो कि होइन भन्ने एकिन भएको छैन।
तर स्थानीयहरुले भने कोरोनाका कारण मर्नेको संख्या बढेसँगै यस्तो अवस्था आएको बताएका छन्।
उन्नावमा अन्तिम संस्कारको काम गर्ने पुरोहित विजय शर्माका अनुसार पछिल्लो एक महिनामा ठूलो संख्यामा शवहरु दाह संस्कारका लागि आइरहेका छन्। पहिला हरेक दिन १०–१२ जनाको अन्तिम संस्कार हुने गरेकोमा अहिले दैनिक १ सय भन्दा धेरेको अन्तिम संस्कार हुने गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।